समाज

विदेश मोह त्यागेर गाउँमा माछा पालन

खार्मीका नवराज राईको माछा पोखरी। तस्बिरः नागरिक

खोटाङ – विदेशमा पसिना बगाएर पैसा कमाउनु सोचेजस्तो सहज छैन। यही बुझेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नवराज राईले गाउँमै माछा पालनमा लागेका छन्।

विदेश जाँदा लाग्ने बराबरको खर्चमा उनले बिखर्पु पुछारमा तीन वटा पोखरी निर्माण गरेर माछा पालन सुरु गरेका हुन्। गत जेठदेखि पोखरी खन्न सुरु गरेका राईले असोजमा ग्रासकार्प, मुंग्री लगायतका माछा लगाएका छन्। ढंकुखोलाको पानी पोखरीमा खसाएर एकै पटकमा ४ हजार ६ सय भूरा हालेको उनले बताए। महिना दिनअघि उनले पुनः ४ हजार भुरा थपेका छन्। उनले अढाइ लाखमै तापखोला किनारमा रहेको खेतकोबीचमा माछा पालन सुरु गरेका हुन्।

नवराजका कान्छो भाई मलेसिया छन्। विदेशमा खेप्नु परेको दुःख सुने÷बुझेका उनले गाउँमै पसिना बगाउने निर्णय गरेका हुन्। ‘साथीभाईले विदेशको दुःख सुनाउँदा विदेश जान मन लागेन, बरु विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गरौं भन्ने लाग्यो,’ २६ वर्षीय राईले भने, ‘आफ्नै गाउँ–ठाउँमा केही गरौं भनेर माछा पालन थालेको हुँ।’

कुनै कृषि फर्म देखाएर सरकारी बजेट हात पार्ने प्रवृत्ति बढिरहेका बेला नवराजले भने हालसम्म कुनै कार्यालयबाट अनुदान लिएका छैनन्। नवराजले विना अनुदान रहर लाग्दो माछा पालन सुरु गरेको खार्मीका वडा सचिव चित्र सुबेदीले बताए। उनले दिक्तेल, केपीलासगढी गाउँपालिकाको बाक्सिला लगायतका बजारमा खपत गर्नेगरी माछा पालन सुरु गरेका हुन्।

माछा पालनबाट लोभलाग्दो आम्दानी
खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका युवा कैलाश राईले व्यवसायीक माछा पालनबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। ४ वर्षअघि भिजन माछा फर्म स्थापना गरेका राईले करिव १८ लाखको लगानीमा ८ रोपनी जग्गामा माछा पालन सुरु गरेका हुन्।

गाउँमै स्वरोजगार बन्ने लक्ष्य बोकेर हाईब्रीड माछा पालनमा लागेका राईले हालसम्म तीन क्विन्टल माछा बिक्री गरिसकेको बताए। अध्ययन र रोजगारीको सिलसिलामा लामो समयसम्म धरान,काठमाडौं बिताएका राईले मच्छे विकास निर्देशनालय बालाजु माछापोखरीबाट गाउँमै प्राविधिक ल्याएर जग्गा पहिचान एवं भौगोलिक बनावट अनुसार माछा पालन थालेका हुन्।

उनको पोखरीमा ग्रासकार्प, सिल्भरकार्प, कमनकार्प, जर्मनकार्प, ब्रिगेट, नैनी र रोहु जातका माछा लगाइएको छ। उत्पादित माछा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, जालपा, नुनथला, ऐसेलुखर्कको ऐसेलुुखर्क बजार लगायतका बजारमा बिक्री हुने गरेको छ।

कतिपय माछा पोखरीबाटै बिक्री हुने गरेको राईले बताए। माछाको बजार माग बढ्दै जाँदा उनले गत फागुनमा १ लाख भुरा थप गरेका छन्। खोटाङ जोड्ने दुधकोसी पुल निर्माण भएपछि जिल्लामा उत्पादित माछा निर्यातका लागि थप सहज बाटो खुलेको उनको भनाई छ।

बाबुबाजे लाहुरे भएकाले कैलासलाई पनि लाहुरे बन्ने भुत चढेको थियो। तर, लाहुरे बन्ने सपना पूरा नभए पछि उनी गाउँ फर्किएर माछा पालनमा लागेका हुन्। हाल यही माछा पालनले उनलाई व्यवसायिक किसानको परिचय बनाइदिएको छ। यही पेसाबाट उनले राम्रो आर्थिक आम्दानी गरिरहेका छन्। अर्गानिक भएकाले आफ्नो फर्मको माछा ग्राहकको रोजाइमा पर्ने गरेको उनले बताए। माछा पालनबाटै संवद्ध बन्ने उनको लक्ष्य छ।

प्रकाशित: २४ चैत्र २०७४ ०९:४२ शनिबार

विदेश मोह त्यागेर गाउँमा पालन