समाज

घर फिर्नु भनेको मर्नु हो!

पहिरोको चपेटामा परेको पाँचथरको फालेलुङ- ५ को फ्याङटार वस्ती ।

असोजको ११ र १२ गते परेको अविरल वर्षापछि पाँचथरमा ठुलो धनजनको क्षति भयो। मृतकका परिवालाई राहत दिनेसहितका कार्य सरकारी तवरबाट जारी छ। राहतपछि पुननिर्माणमा फर्कने तयारीमा रहेको पाँचथरको फालेलुङ ५ को फ्याङटार विस्थापनको चपेटामा छटपटाई रहेको छ ।  

फ्याङटारको तामाङ बस्तीले गाउँ छाडेको १५ दिन बित्यो । पहिलो ३ दिन बस्तीबाट २ किलोमिटर माथीको भैँसे पुगेर ज्यान जोगाएका १३ परिवार अहिले आफन्तको शरणमा लुदिन गाउँ आसपासमा छन्।  

छिमेकीले दिएको शरण दीर्घकालिन हैन। आपतमा सहयोग भयो राम्रो भयो तर अव घर फर्कनु मर्न जानु जस्तै भएको छ। ८१ वर्षीया आमालाई बोकेर ज्यान जोगाउन भागेका कुमार तामाङले यही अवस्थामा घर फर्कनु भनेको मर्नु जस्तै भएको सुनाए। 

९ महिनाको नानी च्यापेर भागेका स्थानीयले ज्यान जोगाउनु नै ठुलो कुरा भएको बुझेका छन्। पुगै गाउँ हल्लीयो। सहयोगको याचना पनि बेकार तुल्य रह्यो। बेपत्ता महिला अझै फेला परेकी छैनन् । म त नानी बोकेँ भागेँ स्थानीय लाखमान तामाङले भने ज्यान बच्यो त्यही ठुलो कुरो हो ।

बिस्थापनमा परेकी कमला तामाङ अफ्नो घर देखाउँदै । तस्बिर : सरोज शर्मा/पाँचथर

 करिव १ किलोमिटर टाडाको गाउँबाट फर्किन नसकिने आफनो गाउँ नियालिरहेका स्थानीयलाई अब के हुन्छ भन्ने कुनै जानकारी छैन। सरकारले केही गर्देला भन्ने झिनो आशा पालेका उनीहरु राहत र पुनस्र्थापनाको पर्खाइमा छन्। अस्ती वडाले चामल तेल दिएर गयो । अव कस्ले सहयोग गर्छ थाहा छैन । कमल तामाङले भने सरकारले केही गर्छ त भन्छन खोई ?

बस्तीनै बिस्थापनमा परेपछि जिल्लामा क्रियाशिल केही संघसंस्थाले राहत वितरण पनि गरेका छन् तर उक्त सहयोग उनीहरुका लागि पर्याप्त छैन। गाउँबाट विस्तापित १३ सहित १८ परिवारलाई हाम्रो सहाराले प्रति परिवार ५ हजारका दरले नगद सहयोग गरेको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिए।  

५ वर्ष पहिला फालेलुङ गाउँपालिकामै पहिरोमा परेर विस्थापित परिवारका लागि भनेर बनाईएका २० वटा घर अझै प्रयोगविहीन छन्। फेरि पनि फालेलुङमा एकीकृत बस्तीको खाँचो देखिएको छ । तर अघिल्लो पटक निर्माण भएका घरमा किन नागरिक जान मानेन तिनको अध्ययन गर्न भने चुक्नु नहुने जानकारहरु बताउँछन ।

(सरोज शर्मा पाँचथरमा सक्रिय पत्रकार हुन् ।)

प्रकाशित: ७ कार्तिक २०८१ १५:५२ बुधबार

#पाँचथर पहिरो