समाज

‘क्लिक खेती’ले हैरान पत्रकार

बेलायती दुई अखबार ‘द मिरर’ र ‘एक्सप्रेस’का सञ्चालक न्युज रुममा छिरेर गत महिना एउटा घोषणा गरे, ‘अब यो न्युज रुममा काम गर्ने हरेक पत्रकारले दिनको आठवटा समाचार लेख्नुपर्नेछ। नत्र अन्यत्र काम खोज्नुहोला।’ त्यसयता दैनिक आठवटा समाचार लेख्ने चटारोले यी पत्रिकाका पत्रकारलाई कराप्पै पारयो । ‘रिच’ म्यागेजिन छोडेर यहाँ काम गर्न आएका एक पत्रकारले भने, ‘दैनिक आठवटा समाचारको तोड यस्तो छ कि कहिलेकाहीं त खाजा खाने फुर्सद पनि हुँदैन । त्यो त बरु पछि खाउँला तर समाचार हालेर पनि राम्रो भ्युज (क्लिक) पाएन भने अर्को तनाव हुन्छ।’

अर्का एक पत्रकारले अनौपचारिक भेटमा भने, ‘जसले क्लिक खेतीमा काम गरिरहेको छ, उसका लागि त यो राम्रै कुरा होला तर जो वास्तविक पत्रकार छ,जसलाई क्लिक खेतीसँग मतलब हुँदैन र खोजमा रमाउँछ तर यो पछिल्लो क्रियाकलापले उसलाई डाइनोसर बनाउने पक्का छ ।

’ क्लिक खेती भनेको जुन समाचार बढी क्लिक हुन्छ, मान्छेले शीर्षक देख्नेबित्तिकै अनलाइनमा क्लिक गर्छन्, त्यस्ता समाचार उत्पादकलाई क्लिक किसान र क्लिक खेती भनिन्छ । क्लिक खेतीमा लागेका पत्रकारको समस्या के छ भने हतारमा समाचार लेख्नुपर्ने भएकाले उनीहरूका समाचारमा पर्याप्त गल्ती हुन्छन् । 

असमाचारलाई पनि समाचार बनाउनुपर्ने हुन्छ कहिलेकाहीं । तिनलाई भेरिफाई गर्ने समय निकै कम हुने हुनाले सही सूचना जाने भन्दा पनि गलत सूचनाको भारी बोक्ने पत्रकार बन्न पुग्छन्।  

काम गतिलोभन्दा पनि बढी कसले क्लिक गरयो भन्नेमा चासो हुने हुँदा पत्रकारलाई थप दबाब पर्ने गरेको छ।डिजिटल संसारमा पछिल्लो समय ‘गलाकाट’ प्रतिस्पर्धा चलिरहेको छ । यहाँ नयाँनयाँ खेलाडी जन्मिरहेका छन् । 

यस्तोमा द मिरर र एक्सप्रेसजस्ता पुराना अखबार पनि यो दौडमा सामेल हुनुपर्ने बाध्यता बढेको छ।  

एउटा पत्रकारले दिनमा कतिवटा समाचार उत्पादन गर्ने भन्ने प्रश्न एउटा छ तर जति समाचार उत्पादन गरे पनि नपुग्ने डिजिटल संसारमा यो पत्रकारका लागि थप बोझ बन्न पुगेको छ। अचेल अखबारहरूले त्यस्ता समाचार बनाउने गरेका छन्, जुन गुगलमा मान्छेले विभिन्न विषयबारे खोजिरहेका हुन्छन् । 

यसका लागि अखबारहरूले गुगल डिस्कभर प्रयोग गरेका छन्। यति मात्र होइन, हुँदाहुँदा रिपोर्टरले भ्याएनन् भने स्वयं सम्पादकहरू पनि समाचार लेख्न थालेका छन् । यसका लागि सहज बनाइदिन कम्पनीले एआई सफ्टवेयरहरूको समेत उपयोग गर्न थालेका छन्।  

डेली मिररका कार्यकारी अधिकृतले त पत्रकारहरूलाई पठाएको सूचनामा के समेत भन्न भ्याएका छन् भने,‘तपाईंहरूको समाचारले कम्तीमा पनि १२ हजार पाँच सय भ्युज दुई दिन भित्रमा पाइसक्नुपर्छ। 

त्योभन्दा कम भ्युज पाएको समाचारलाई समाचारै मानिने छैन।’ अब केलाई गज्जबको समाचार मान्ने भन्ने मापक पेज भ्युज हुन थालेपछि द मिररमा लेखिने राजनीति, व्यापार र सामान्य समाचार समाचार नै नहुने भएका छन्। 

त्यस्तै सेलिब्रिटी र दरबारका समाचारहरूको भ्युज लाखौंमा आउने भएकाले ती मात्र समाचार मान्न थालिएको छ ।

मिररमा गायक जस्टिन बिबर, हेयर स्टाइल, म्यानचेस्टर युनाइटेड शब्द मात्र छिराएका खण्डमा राम्रो पाठक दोहोरिने गरेका छन् ।  

समाचारमा भन्दा लुगा कपडाबारे लेखिएका टिप्पणीको बढी पाठक रहेको पछिल्लो समय देखिएको मिररका एक पत्रकारले जनाए। पर्याप्त सबुतबिनै समाचार लेख्ने रोग मिररबाहेक यसका अन्य शाखामा पनि सरेको छ।  

म्यानचेस्टर इभिनिङ न्युज, लिभरपुल इको र ओके म्यागेजिनमा पनि फेसबुकका हल्लालाई समाचार बनाउने क्रम तीव्र रूपमा बढेर जान थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालहरूले समाचारको लिंकलाई निरुत्साहित गर्ने नीति लिन थालेपछि यस्ता संस्थालाई गाह्रो पारिरहेको छ। त्यस्तै गुगलले पनि समयसमयमा आफ्नो नीति परिवर्तन गरिरहेको छ, जसले गुणस्तरहीन समाचार र स्पाम समाचारलाई निरुत्साहित गरिरहेको छ। जसकारण तयारी मालजस्तै तयारी समाचारहरू पस्कने अनलाइनको आम्दानी पहिलेको तुलनामा निकै घट्न थालेको छ। त्यसैले मिररको माउ संस्था रिच मिडियाले आफ्ना सबै प्रकाशनहरूको क्लिक बढाउन समाचार बढाउने निर्णय गरेको थियो।  

यसो गर्दा कम्पनीले बढी रजिस्ट्रेसन पाउने र त्यसमार्फत ई–कमर्समार्फत आफ्नो व्यापार बढाउने काम गरिरहेको छ।  

गत वर्ष मात्र द इन्डिपेन्डेन्ट पत्रिकाले आफ्नो राम्रो व्यापार बढाएको थियो। उसले त्यही समय बन्द भएका बजफिड र हफिंगटन पोस्टले बेलायत छाडेको मौकामा आफ्ना कन्टेन्ट बढाएको थियो। त्यस्तै भाइस मिडियाले पनि आफ्ना सयौं कामदारहरूलाई बिदा दिएको थियो। 

रिच मिडियाका प्रमुख कार्यकारी जिम मुलेनले अर्को एउटा काम गरेका थिए।उनले मिररलाई अमेरिकासम्म फैलाएका थिए। त्यही खाली ठाउँ भर्न पत्रकारहरूलाई कम्तीमा आठवटा समाचारको जिम्मेवारी दिइएको थियो।  

कुनै समय एउटा समाचारले अनलाइनलाई ५० सेन्टसम्म कमाएर दिने गथ्र्यो।अचेल भने त्यो आम्दानी घटेर ५ सेन्टमा झरेको छ । त्यसको घाटापूर्ति गर्नका लागि भए पनि अनलाइनहरूले बढीभन्दा बढी, क्लिकयोग्य र धेरै पाठक तानिने समाचार बनाउने बाध्यता बढेर गएको छ। मिररको प्रतिस्पर्धी संस्था मेल अनलाइन र द सनको मुख्य आम्दानी अचेल अनलाइन नै हुने गरेको छ। उनीहरूले पनि आफ्नो देशमा कामदार कटौती गर्दै अमेरिकामा शाखा खोल्न थालेका छन्।त्यसको आधार ‘क्लिक बेट’ नै हुने गरेको छ।  

रिच मिडियाको यो प्रयासले पछिल्ला केही समयमा २दशमलव५ प्रतिशतले व्यापार बढेको देखाएको छ। त्यसो त गत पाँच वर्षमा रिच मिडियाले आम्दानी गुमाउँदै जान थालेको छ।

सन् २०१८ मा लन्डन स्टक एक्सचेन्जमा यसको सेयर मूल्य ७२३ मिलियन पाउन्ड थियो भने अहिले जम्मा ३०० मिलियन पाउन्डमा झरेको छ।सन् २००५ मा भने यसको मार्केट क्यापिटलाइजेसन दुई अर्ब पाउन्ड रहेको थियो। 

कम्पनीको बजार मूल्य घट्दै जाँदा कम्पनीका कार्यकारी प्रमुख जिम मुलेनले गत वर्ष मात्र आठ सय कर्मचारी कटौती गरेका थिए। मिरर पत्रिकाका अति सम्मानित सम्पादक एलिसन फिलिप्सले त्यत्रा कामदार कटौतीको विरोधमा राजीनामा दिएका थिए।  

प्रकाशित: ७ कार्तिक २०८१ ०७:२१ बुधबार

#click #onlinemedia