समाज

जुम्लामा भित्रियो धान काट्ने मेसिन

धान काट्ने मेसिन। तस्बिर: गोल्डेन बुढा/नागरिक

जुम्लाको चन्दननाथ नगरपालिका-७ मिचा गाउँका भीमबहादुर सार्कीले यस वर्ष आफ्नो १२ मुरी खेतमा रोपिएको धान मेसिनको प्रयोग गरेर काटे। परम्परागत रूपमा हँसिया प्रयोग गरेर धान काट्न एक साता लाग्ने काम उनले एकै दिनमा सम्पन्न गरे।

कर्णाली राजमार्ग हुँदै ओहोरदोहोर गर्नेहरूले मेसिनले धान काटिरहेको दृश्य देखेर फोटो तथा भिडियो खिचिरहेका थिए। उनका छिमेकीहरू पनि धान काटिदिन उनीसँग अनुरोध गरिरहेका थिए। 

भीमबहादुरले आफ्ना छिमेकीहरूको १५ मुरी खेतमा रोपिएको धानसमेत मेसिनले काटिदिए। उनले भने, "पुर्खाहरूले परम्परागत कृषि प्रणालीमा काम गरेर धेरै दुःख सहनुपर्‍यो। अब विज्ञान र प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा सहजीकरण गर्नु आवश्यक छ।"

भीमबहादुरको खेतमा उन्नत जातको धान र मार्सी धान रोपिएको थियो। मार्सी धानमा सामान्य हल्लिँदा झर्ने समस्या भए पनि अन्य उन्नत जातका धानहरूमा मेसिनको प्रयोग निकै प्रभावकारी रहेको उनले बताए। उनले यस पटक सात वटा धान काट्ने मेसिन ल्याएका थिए। जुन अहिले सबै भाडामा दिएका छन्।

जुम्लाको चन्दननाथ र तलिउम क्षेत्रका धेरै किसानहरूले पनि धान काट्न मेसिनको प्रयोग गर्न थालेका छन्। पेट्रोलबाट चल्ने यी मेसिनहरूले धान काट्ने काम सहज बनाएको छ।

भीमबहादुरका अनुसार हँसिया प्रयोग गर्दा श्रम धेरै लाग्ने, समय बढी खर्चिने र खर्च पनि महँगो पर्ने भएकाले मेसिन प्रयोग गर्न थालिएको हो। सामान्यतया, प्रति व्यक्तिलाई दुई हजार रुपैयाँ तिरेर धान काट्नुपर्ने हुँदा एक दिनको खर्च ८ हजारदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ, तर मेसिनले एकै घण्टामा एक हजार रुपैयाँमै धान काटिदिन्छ।

उनले भने, "मेसिनले काम गर्दा समयको बचत हुन्छ र खर्च पनि कम पर्छ।" उनका अनुसार २० हजार रुपैयाँ लाग्ने खेतलाई ६ हजारमै काट्न सकिन्छ। भीमबहादुरले २७ मुरी खेतमा रोपिएको आफ्नो र छिमेकीको धान मेसिनको मद्दतले नौ घण्टामै काटे।

चन्दननाथ-२ भण्डारी बाडाका रत्नबहादुर भण्डारीले पनि यस पटक मेसिनको प्रयोग गरेर धान काटे। उनले पनि पहिलेको जस्तो ज्यालामा श्रमिक राख्नुपर्ने झन्झट बेहोर्नु परेन। रत्नबहादुरले मेसिनको प्रयोगबाट पहिलो दिनमै धान काटेर दोस्रो दिन घर भित्र्याए। मेसिनले धान काटेको देख्दा स्थानीय किसानहरू चकित परेका थिए, र धेरैले पनि आफ्ना धान काटिदिन अनुरोध गरे।

उनले भने, "मान्छेले काट्दा धेरै खर्च लाग्छ, तर मेसिनले सस्तोमा सजिलै धान काट्न र भित्र्याउन सकिन्छ।" उनले २५ हजार रुपैयाँमा धान काट्ने मेसिन ल्याएका हुन्। भीमबहादुरले नौ घण्टामा २७ मुरी खेतमा धान काटेका छन् भने, सर्लक्क उभिएको धान काट्न मेसिनले धेरै सजिलो हुने उनको अनुभव छ।

जुम्लामा हाल २ हजार ९ सय ८० हेक्टरमा धान खेती हुने गरेको छ। जसमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धानको खेती हुन्छ। आधुनिक स्रोत साधनहरूको सहज पहुँचले किसानहरूले मिनी टिलरले जोत्ने र मेसिनले धान काट्ने काम गर्न थालेका छन्। जसले कृषि उत्पादनलाई अझ सहज र समयमै सम्पन्न गर्न मद्दत पुर्‍याएको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १९:३० मंगलबार

#Paddy cutting machine