नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम रहेको सूचनापछि नेपाली सेना र नेपाल प्रहरीले सर्च जारी राखेका छन्।
जहाज अवतरण गरेपछि सुरु गरिएको प्रारम्भिक सर्चमा कुनै शंकास्पद वस्तु नदेखिएपछि पुन: सर्च गर्न सुरु गरिएको छ। सेनाको बम डिस्पोजल टोलीले अहिले पनि जहाजको स्क्यानिङ गरिरहेको छ।
भिस्टाराको उक्त जहाज मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा १५७ जना यात्रु सवार थिए। सुरक्षाको दृष्टिकोणले यात्रुहरुलाई सुरक्षित तरिकाले झारिसकिएको छ भने जहाजलाई इमरजेन्सी क्षेत्रमा राखेर जाँच भइरहेको छ।
सूचना अनुसार भिस्टाराको सुरक्षा संयन्त्रमा वाट्सएप कल मार्फत् बम रहेको जानकारी आएको थियो। तर, अहिलेको सर्च अपरेसनमा कुनै वस्तु फेला नपरेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘अहिलेसम्म शंकास्पद केही भेटिएको छैन, विमानको सिटदेखि यात्रुहरुको लगेजसम्म चेक गरिसक्याै तर केही फेला परेन। पुन: सर्च गरिरहेका छौं,’ उनले भने।
हाल त्रिभुवन विमानस्थलमा उडान र अवतरणको प्रक्रिया भने निरन्तर भइरहेको छ।
प्रकाशित: ६ कार्तिक २०८१ १८:२९ मंगलबार