समाज

मलेसियामा कहिले खुल्ला नेपालीका लागि रोजगारी?

मलेसियाको राजधानी क्वालालम्पुर। तस्बिर: ब्रिटानिका डट कम

आप्रवासी कामदारको पारिश्रमिक बढाएको मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने अझै प्रष्ट भइसकेको छैन। अहिले नेपालको प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जान पाएका छैनन्।

आन्तरिक व्यवस्थापन गर्न भन्दै गत २०८१ जेठ १८ गतेदेखि मलेसियाले नेपालसहित सबै मुलुकबाट कामदार लैजान रोकेको थियो। यसले गर्दा हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अब मलेसियाले कामदार भित्र्याउन कहिले खुला गर्छ भनेर नेपाल लगायतका मुलुकको चासो बढेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा दुई लाख ५९ हजार पाँच सय ९४ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका थिए। जसमा महिला सात हजार दुई सय ९९ सय जना छन्।

वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए। साथै मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको संख्या पनि बढ्दै गएको थियो। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको हो।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक तवरले बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम पनि ल्याएको थियो। अवैधानिक रूपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकलाई २०८० फागुन १८ देखि २०८१ पुस १६ सम्म घर फिर्ती कार्यक्रम ल्याएको हो।  

अहिले वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक मलेसिया जान नेपाली श्रमिक पर्खिएर बसेका छन् । नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य बनेको मलेसियाको सरकारले मे महिनाको अन्त्यदेखि वैदेशिक रोजगारीका लागि श्रमिकको माग रोकेको छ।

मलेसियाको माग र आपूर्ति हेरेर त्यहाँको सरकारले वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्ने व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए। अब केही समयमै मलेसियामा नेपालबाट कामदारहरू जान पाउने छन् भन्ने आशा गरिए पनि एकै पटक ठूलो संख्यामा नेपाली कामदार लैजान्छ भन्ने निश्चित नभएको भण्डारीले बताए।

मलेसियामा विभिन्न पाँच क्षेत्रमा नेपाली कामदारहरूले काम गर्ने गर्छन्। सबैभन्दा धेरै कामदार उत्पादन क्षेत्र, सेवामूलक क्षेत्र, कृषि क्षेत्र, निर्माण क्षेत्र र बागवानी अर्थात् प्लान्टेसन क्षेत्रमा कार्यरत छन्। ‘मलेसियामा प्लान्टेसन क्षेत्रमा सीमित मात्रामा खुला गरिएको छ,’ भण्डारीले भने, ‘त्यहाँ उत्पादनमूलक क्षेत्रमा धेरै नेपाली कामदारले रोजगारीको अवसर पाउने गरेका छन्।’

 संभवतः यही कारणले नेपाली कामदार ठूलो संख्यामा मलेसिया जान्छन् तर अहिले त्यहाँ पनि अर्थतन्त्र र रोजगारी दुवै क्षेत्रमा समस्याहरू छन्। तत्कालै ठूलो संख्यामा नेपालबाट कामदार जाने अवस्था भने देखिँदैन, भण्डारीले भने।

कतिपय वैदेशिक रोजगार व्यवसायीहरूले मलेसियामा मात्रै कामदार पठाउने गरेका थिए। त्यो बन्द हुँदा म्यानपावरहरूलाई नवीकरण गर्नसमेत कठिन हुने अवस्था छ। किनभने न्यूनतम सय जना कामदार एक वर्षमा नपठाउने म्यानपावरलाई नवीकरण नगर्ने नीति सरकारको छ।

मलेसियामा हाल काम गर्नेमध्ये धेरै कामदारहरू अदक्ष वा कम दक्ष रहेको पाइन्छ। पछिल्लो समयमा मलेसियाको जोड दक्ष कामदारहरू भित्र्याउनेमा रहेको संकेत पाइएको पनि उनले बताए। मलेसियाको कुल श्रम जनशक्तिमध्ये झन्डै १५ प्रतिशत विदेशी कामदार छन्।

मलेसिया सरकारको सन् २०२२ को तथ्यांक अनुसार त्यहाँ काम गर्ने नेपाली श्रमिकको संख्या तीन लाख ३५ हजारभन्दा बढी रहेको थियो। त्यसमा महिला कामदारहरूको संख्या झन्डै तीन प्रतिशत रहेको पाइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार मलेसियाले विदेशी कामदार लैजाने प्रक्रिया जुुन–जुलाईतिर खुलाउँछ भन्ने छ तर यकिन भने गर्न सकिने अवस्था छैन। यद्यपि जुन–जुलाइतिर खोल्ने भनेको छ तर कसैलाई पत्राचार भने गरेको छैन्,’ उनले भने।

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियासँग पाँच वर्षअगाडि (२०७५ मा) भएको शून्य लागत श्रम सम्झौताको अवधि यही कात्तिक १२ गतेदेखि सकिँदै छ। मलेसियासँग श्रम सम्झौताको नवीकरणका चाँडै हुने सूचना अधिकारी उप्रेतीले जानकारी दिए।

उनका अनुसार नयाँ श्रम सम्झौता अब तत्काल ओमान र स्पेनसँग पनि हुन लागेको छ। अब केही समयमै श्रम सम्झौताको नवीकरण मलेसिया, कतार र दक्षिण कोरियासँग हुन लागेको उप्रेतीले खुलाएका छन्।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएसँगै माइग्रेसन प्रिपरेसन प्रोग्रामअन्तर्गत बढीमा पाँच सय मलेसियन रिंगेट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागु गरेको थियो।

उक्त कार्यक्रमअन्तर्गत मलेसियामा विनाभिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा पाँच सय मलेसियन रिगेंट जरिवाना र भिसाको नियम उल्लघंन गरी मलेसियामा बसेकाहरूको हकमा तीन सय मलेसियन रिंगेट जरिवाना तिराइ स्वदेश फर्काउने व्यवस्था गरेको थियो।

मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट थियो। आर्थिक मन्दीका कारण रोजगारदाताहरूले ओभरटाइम दिन नसक्दा न्यूनतम तलब मात्रै दिन बाध्य भएका थिए।

अहिले मलेसियामा काम गर्ने श्रमिकको पारिश्रमिक प्रतिमहिना १५ सय (४७ हजार रूपैयाँ) बाट बढाएर १७ सय रिंगेट (करिब ५३ हजार रूपैयाँ)पुर्‍याइएको छ। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।

अब वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने न्यूनतम तलबमा सबैभन्दा बढी मलेसियामा काम गर्ने श्रमिकले पाउने छन्। खाडी मुलुकहरूमध्ये कतारले एक हजार रियाल (३४ हजार रूपैयाँ) मात्रै निर्धारण गरेको छ। साउदी अरब, युएई, कुवेत लगायतका देशले न्यूनतम तलब तोकेका छैनन्। जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ।

मलेसियामा शून्य लागत र फ्रि भिसा फ्रि टिकटमार्फत श्रमिक पठाउँदै आएका आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले मलेसियामा कामदार लैजाने प्रक्रिया यो वर्षको अन्त्यसम्ममा खुल्ने बताए। आफूहरूले कामदार आपूर्ति गर्दै आएका कम्पनीहरूसँग अहिले अडिटदेखिका विभिन्न काम भइरहेको उनको भनाइ छ।

‘अहिले कामदार पठाउन नपाए पनि अन्य प्रशासनिक काम भइरहेका छन्। अब खुलेपछि मात्रै कामदार पठाउने प्रक्रिया सुरु गर्छौं,’ केसीले भने, ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अब चाँडै खुल्छ भन्ने अपेक्षा छ।’

मलेसियामा तीन लाखभन्दा बढीको संख्यामा नेपाली श्रमिकहरू रहेका छन्। विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख तीन हजार चार सय ४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन्। त्यसमा पुरूष एक लाख एक हजार जना र महिला दुई हजार चार सय २४ जना छन्।

प्रकाशित: ६ कार्तिक २०८१ ०८:०८ मंगलबार

# Bidesi Kamdar # Migrant workers