समाज

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

बाल विवाह र लागूपद्धार्थ दुर्व्यसनविरुद्ध सहजिकरण गर्दै सहजकर्ता। तस्बिरः महेश्वर

उदयपुर – उदयपुरका विभिन्न विद्यालयमा बढ्दो लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजनामा विद्यालयस्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान सञ्चालन गरिएको हो।

दुर्व्यसनविरुद्ध थुप्रै विद्यमान ऐन कानुनको कार्यान्वयन भए पनि चेतना अभावमा दुव्र्यसन र हिंसाका घट्नाहरु बग्रेल्ती हुनेक्रम नरोकिएकाले त्यसको न्यूनीकरण गर्ने उदेश्यले विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गरिएको महिला विकास अधिकृत निर्मला कार्कीले बताइन्। उनका अनुसार सचेतना कक्षामा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई सहभागी गराउँदै लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषधको हानी नोक्सानीबारे जानकारी दिने गरिएको छ।

‘विद्यालय पढ्ने उमेरका किशोर किशोरीमा नयाँ कुराप्रहित बढी कौतुहलता हुन्छ’ कार्कीले भनिन् ‘त्यसैले यो बेला कुलतमा फस्ने सम्भावना पनि बढी हुने हुँदा उनीहरूलाई लक्षित गरी अभियान चलाइएको हो।’ मविकाले चैतभित्र ३ वटा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको जनाएको छ। त्रियुगा नगरपालिका १३ स्थित जनता आधारभूत विद्यालय असारी, त्रिनपा ११ स्थित उदयपुर सेकेण्डरी स्कुल गाईघाट र त्रियुगा लिटिल फ्लावर स्कुल बोक्सेमा सञ्चालित अभियान अन्तर्गत करिव हजार जना छात्रछात्राको सहभागिता थियो। उनीहरुलाई हिंसा, लागू औषध, किशोरावस्था र लागूऔषध र हिंसा हुनबाट बँच्ने उपायबारे अनुशिक्षण तालिम दिइएको थियो।

अनुशिक्षणमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, महिला विकास अधिकृत कार्की र प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सहजिकरण गरेका थिए।

प्रकाशित: २४ चैत्र २०७४ ०५:२८ शनिबार

दुर्व्यसन हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना