समाज

प्याज खेती तर्फ आकर्षित हुँदै चितवनका किसान

भान्सामा दैनिक प्रयोग हुने प्याजमा पनि नेपाल परनिर्भर छ। सरकारी तथ्याङ्क अनुसार ९० प्रतिशत प्याज बाहिरी मुलुकबाट आयात हुने गर्दछ। बढ्दो आयातलाई न्यूनीकरण गर्न चितवनका किसान प्याज खेती विस्तारको तयारीमा छन्। व्यवसायीक प्याज खेतीका लागि यहाँका ३८ वटा कृषक सहकारी तथा समूहले तालिम समेत लिइसकेका छन्।

व्यवसायीक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका भरतपुर महानगरपालिका–२५का किसान प्रदिपप्रसाद न्यौपाने पनि यस वर्ष प्याज लगाउने तयारीमा छन्। विगतमा घरका लागि मात्र प्याज उत्पादन गर्दै आएका न्यौपानेले यस वर्षदेखि तीन बिगाहामा प्याज लगाउने तयारी गरेको बताए।

‘चितवनको माटोमा प्याज राम्रो उत्पादन हुन्छ। यस वर्ष काउली बन्दा भन्दा प्याज लगाउनका लागि तीन बिघा जमिन खाली राखेको छु’–उनले भने। प्याज खेतीका तालिम समेत लिएर बेर्ना जमाउने तयारीमा उनी छन्। सानै उमेरमा कास्कीबाट चितवन झरेका न्यौपानेले मेवा, अम्बा, रुख कटर सहित तरकारी खेती गर्दै आएका थिए।

सोही ठाउँका गोपीराम चौधरी पनि व्यवसायीक कृषक हुन्। तर, अहिलेसम्म उनले व्यवसायीक प्याज खेती गरेका थिएनन्। यसबर्षदेखि भने समुहमा प्याज खेती गर्ने तयारीमा चौधरी छन्। ‘समूह मार्फत व्यवसायीक तरकारी खेती सुरु गरेको सात वर्ष भयो। यो अवधिमा काउली, बन्दा, गोलभेडा, काँक्रा लगायतका तरकारी उत्पादन गर्दै आएका थियौँ’, चौधरीले प्याजको बीउ देखाउँदै भने ‘यसबर्ष एक बिगाहामा प्याज लगाउँदै छौँ।’

यसरी नै चितवनका किसानले समूह र व्यक्तिगत गरी यस वर्ष तरकारी जोन क्षेत्रमा मात्र पाँच सय कठ ठामा प्याज लगाउने तयारी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनले सो जमिनमा प्याज लगाउनका लागि किसानलाई तालिम समेत प्रदान गरेको छ। परियोजनाका कृषि अधिकृत रविकिरण अधिकारीका अनुसार तरकारी जोन क्षेत्रमा यस वर्ष किसानले पाँच सय कठ ठामा प्याज लगाउँदै छन्। यसका लागि परियोजनाले समेत सहयोग गरेको उनले बताए । ‘तरकारी जोन अन्तर्गत चितवनमा प्याज प्रवर्द्धन कार्यक्रम आएको छ’, उनले भने हामीले बिउ मल खात रोग किरा नियन्त्रणमा सहयोग गरिरहेका छौँ।’ प्याज खेतीका लागि किसानले सम्झौता समेत गरिसकेका छन्।

आजकाल प्रायः भान्सामा प्याज र टमाटर बिना भान्सा करिब अपूरो हुने स्थिति आइसकेको छ। जसका कारण प्याजको खपत पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइन्छ। कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक सुधीर श्रेष्ठका अनुसार नेपालमा वार्षिक दुई लाख २४ हजार मेक्टिक टन प्याज खपत हुन्छ। त्यसमध्ये १ लाख ६७ हजार मेक्टिक टन उत्पादन स्वदेशी हो। तर, यो तथ्याङ्क गाउँघरमा किसानले आफूलाई खान मात्र उत्पादन गरेको समेत हो। बजारमा बिक्री हुने प्याजमध्ये ९० प्रतिशत आयातित नै रहेको निर्देशक श्रेष्ठले जानकारी दिए। ‘नेपालमा प्याजको व्यवसायीक उत्पादन निकै कम छ’,श्रेष्ठले भने ‘ बजारमा बेचबिखन भइरहेको प्याज बाहिरको हो।’

उत्पादन वृद्धिका लागि बागमती प्रदेशमा लसुन र प्याजमा आत्मनिर्भर अभियान सञ्चालन गरिएको उनले बताए। ‘विगतमा तत्कालीन सरकारले मिसन प्याज भन्ने अभियान सञ्चालन गरेको थियो। त्यो त्यति सफल भएन,’उनले भने, ‘अहिले बागमती प्रदेश सरकारले प्याज उत्पादनमा वृद्धि गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ ।’ उनका अनुसार नेपालमा १३ हजार हेक्टरमा प्याज खेती हुन्छ। 

प्रकाशित: ५ कार्तिक २०८१ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App