समाज

विद्यार्थीहरुलाई स्वस्तिमाको सुझाव: रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु

<br>

तस्बिर: काठमाडाैं महानगरपालिका/मेट्रो न्यूज

अभिनेत्री स्वस्तिमा खड्काले विद्यार्थीहरुलाई लक्ष्य निर्धारणमा दृढ रहन र आफ्नो रुचि अनुसार अगाडि बढ्न प्रेरित गरेकी छन्।

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा दशका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको ‘फेस्टिभल क्याम्प’ कार्यक्रममा बोल्दै उनले भनिन्, ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ, अरुले विश्वाश नगरे पनि फरक पर्दैन। तर, तपाईंमा त्यो लक्ष्यमा पुग्ने रुचि छ कि छैन, त्यो महत्वपूर्ण हो।"

अभिनेत्री खड्काले विद्यार्थीहरुसँग प्रेरणादायी अन्तरक्रिया गरिन्। जसमा उनले किशोरावस्थामा आउने भावनात्मक परिवर्तनमा विषयमा चर्चा गरिन्। ‘रुचि परिवर्तन हुनु स्वाभाविक हो, यसमा चिन्तित हुन जरुरी छैन। तर, आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन कहिल्यै छुटाउनु हुँदैन। नडराउनुहोस्, भित्री चाहनाअनुसार लक्ष्य बनाउनुहोस्, गर्न नसक्ने भन्ने केही छैन।’

कार्यक्रममा सहभागी विद्यार्थीहरुले भविष्यमा कुन पेशा अपनाउने भन्ने प्रश्नमा डाक्टर, नर्स, सुरक्षाकर्मी, शिक्षक जस्ता पेशा छानेका थिए। खड्काले विद्यार्थीहरुलाई आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री बन्ने चाहना थियो, तर यो कुरा अभिभावकलाई भन्न सकिनँ। पछि इञ्जिनियरिङ अध्ययन गरें, गणित गाह्रो लागे पनि मिहिनेतले राम्रै अंक ल्याएँ।’

क्याम्पमा सहभागी विद्यार्थीहरुले उनीसँग व्यक्तिगत जीवन र चलचित्र क्षेत्रमा प्रवेशको अनुभवबारे विभिन्न प्रश्न सोधेका थिए। वैवाहिक जीवनबारे सोधिएको प्रश्नमा खड्काले विवाहलाई आपसी समझदारीको प्रक्रिया भएको बताइन।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार, क्याम्पमा प्रभावशाली व्यक्तित्वसँग विद्यार्थीहरुका लागि अन्तरक्रियात्मक कक्षा सञ्चालन गरिएको छ। ‘कलाकार, बैङ्क तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी, बैज्ञानिक र प्राध्यापकहरुसँग विद्यार्थीहरुलाई सघन छलफलको अवसर प्रदान गरिएको छ,’ उनले भने।

साथै, पेशा जुनसुकै भए पनि विभिन्न क्षेत्रको ज्ञान र सिप आवश्यक पर्ने भन्दै विद्यार्थीलाई बहुआयामिक सीप विकास गर्न प्रेरित गरिएको छ।

क्याम्पमार्फत विद्यालयलाई औपचारिक शिक्षा मात्र नभई जीवनपर्यन्त सिकाइको थलो बनाउँदै फरक सोच र क्षेत्रका व्यक्तिसँग अन्तरघुलन गराउन विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App