समाज

गण्डकीमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

१४ हजार ८ सय भन्दा बढी संक्रमित

डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्मकै बढीलाई संक्रमित बनाएको छ। अहिलेसम्म प्रदेशमा सबैगरि १४ हजार ८ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। सन् २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए। यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगीले ८ जनाको ज्यान पनि गइसकेको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीका अनुसार यो वर्ष डेंगीका संक्रमित अहिलेसम्मकै बढी हुन। ‘अघिल्लो वर्ष पनि संक्रमित त थिए। तर, अहिलेसम्मकै बढी यो वर्ष पुष्टि भएका छन। डेंगी संक्रमित सतप्रतिशत पहिचान नहुँदा नहुँदैको अवस्थामा पनि अहिलेसम्मकै बढी संक्रमित यो वर्ष पुष्टि भएका छन,’ उनले भने, ‘अहिलेपनि संक्रमित कम भएका छैनन्। डेंगी संक्रमण अझै पनि नियन्त्रणमा आएको छैन।’

उनका अनुसार डेंगीका कतिपय संक्रमित निजी स्वास्थ्य संस्थामा गएर उपचार गराएर औषधि सेवन गर्ने भएकोले पनि पहिचान हुँदैनन्। कतिपयले त औषधि पसलबाटै पनि औषधि किनेर सेवन गर्ने भएकोले पनि पहिचान हुँदैनन्। तरपछि यो वर्ष संक्रमित पुष्टि भएको संख्याको आधारमा पनि सर्वाधिक बढी बिरामी भएको उनले बताए।  

प्रदेशका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा छन्। कास्कीमा मात्र अहिलेसम्म ७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये पनि पोखरा महानगरपालिकामा संक्रमितको संख्या ७ हजार ४ सय ६ रहेको उनले बताए। ‘प्रदेशमा सबैभन्दा बढी संक्रमित कास्कीमा छन्। ती मध्ये पनि पोखरा महानगरपालिकामा सर्वाधिक बढी संक्रमित छन्,’ उनले भने। उनका अनुसार कास्कीपछि तनहुँमा संक्रमित बढी छन।  

तनहुँमा अहिलेसम्म ३ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि पर्वतमा १२ सय ८६, बागलुङमा ९ सय १०, गोरखामा ७ सय ७५, स्याङजामा ५ सय ८६, म्याग्दीमा २ सय ९० जना संक्रमित छन्। त्यसैगरि नवलपुरमा यो वर्ष २ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। लम्जुङमा १ सय २१, मुस्ताङमा ९ र मनाङमा ४ जनामा पनि यो वर्ष डेंगी संक्रमण पुष्टि भएको उनले बताए।  

‘अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने। कास्कीपछि तनहुँमा संक्रमित बढी छन। प्रदेशका सबै ११ वटै जिल्लामा अहिले संक्रमित छन्।’ उनका अनुसार अहिले पनि पोखरा क्षेत्रमा दिनहुँजसो पानी परिरहेकोले संक्रमित बढिरहेका छन्।

‘दसैंको बिदाका कारण तथ्यांक केही छुटेको हुनसक्छ। नत्र संक्रमण रोकिएको भन्न मिल्दैन,’ उनले भने, ‘जिल्लामा पनि संक्रमण तिब्र नै छ।’ वर्षा नियमित भएकोले संक्रमण फैलाउन सघाएको उनले बताए।  

उनका अनुसार स्थानीय तहलाई खोज र नष्ट गर अभियानमा संक्रिय हुन अनुरोध गरिएको छ। ‘संक्रमित नघटेकोले अझ थप बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै जिल्ला अस्पताललाई थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय पनि भएको छ,’ केसीले भने, ‘यो संक्रमणलाई कमजोर बनाउने नै खोज र नष्ट गर अभियान सक्रिय रुपमा संचालन गर्ने हो। हामीले स्थानीय तहलाई त्यही अनुसार भनेका पनि छौ।’  

मन्त्रालयका अनुसार गत जुलाई महिनामा प्रदेशमा जम्मा ७ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो आकार अगष्टमा ४ हजार ८४ पुगेको थियो। सेप्टेम्बरमा भने एकै महिनामा संक्रमितको संख्या ६ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो। अक्टोवरको अहिलेसम्म संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको उनले बताए। ‘वृद्धिदर हेर्दा घटेको भन्न सकिन्न। किनकी हरेक दिन संक्रमित थपिएका छन,’ उनले भने।  

पछिल्लो समय पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ। स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ। समुदाय सचेत नहुँदा संक्रमण कम हुन नसकेको स्वास्थ्य कार्यालय कास्कीको भनाई छ। गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन्।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App