समाज

जनकपुरमा धोती,कुर्ता र सारी जुलुस निकालियो

मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन्।

पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन्।

धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा/युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन्। मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरूले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताए।

उनले यसलाई अभियानकै रुपमा आफूहरूले अगाडी बढाएको बताए। यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहेका  मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्येक छठ घाटमा लैजाने अभियान रहेको बताए। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे।

युवतीहरूमा सारीप्रति आकर्षण रहे पनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनीता महतोले दुःख व्यक्त गरिन।उनले युवतीहरूलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गरिन। 

प्रकाशित: ३ कार्तिक २०८१ १२:५९ शनिबार

#Dress of Mithila