समाज

बाढीपहिरोबाट क्षतिग्रस्त संरचना निर्माण गर्न ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राईले पछिल्लो पटकको अविरल वर्षाले खोटाङमा पारेको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र आवश्यक राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

केही दिनअघि जिल्लाका निर्वाचित संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र अगुवा नागरिकसहितको सर्वदलीय, सर्वपक्षीय टोलीको नेतृत्व गर्दै सिंहदरबार पुगेका सांसद राईले क्षति विवरणसहित तत्काल पुनर्निर्माण र मर्मतसम्भार तथा राहतका लागि सरकारको ध्यान खिचेका हुन्।

राई नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटी बाढीपहिरोले जिल्लामा अर्बभन्दा बढी क्षति गरेको जानकारी दिँदै ध्वस्त भौतिक पूर्वाधार संरचना छिटोभन्दा छिटो मर्मतसम्भार र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण पत्र गराएका हुन्।

गत असोज १२ गतेको बाढीले खोटाङ र उदयपुरबिच पक्की र झोलुंगे पुलहरू बगाएर ध्वस्त पारेपछि उदयपुर हुँदै तराईका जिल्लाहरू तथा प्रदेश राजधानी विराटनगर आउजाउ बन्द हुनेगरी प्राकृतिक नाकाबन्दीमा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिङटारस्थित सुन नदीको एक मात्र पक्की मोटरेबल पुल बाढीले भत्काएपछि खोटाङ प्राकृतिक नाकाबन्दीमा परेको भन्दै सरकारले छिटोभन्दा छिटो पुल मर्मत गर्न तथा वारपार गर्ने वैकल्पिक व्यवस्था गर्न माग गरिएको हो।

‘बाढीपहिरोका कारण हामी पुरै जिल्लावासी प्राकृतिक नाकाबन्दीमा परेका छौं, त्यसैले भत्केको पुल, बिग्रेका झोलुंगे पुललगायत अन्य क्षतिग्रस्त भौतिक संरचनाहरूको तत्काल मर्मत गर्न सरकारसमक्ष माग गरेका छौं,’ सांसद राईले भने, ‘फोक्सिङटारको पक्की र आधा दर्जन बढी झोलुंगे पुलहरू भत्केर अवरुद्ध हुन पुगेको सोझो यातायात तत्काल सुचारु गर्ने विकल्पको माग गरेका छौं।’

फोक्सिङटारको पुल भत्केसँगै राजधानी काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ पनि दर्जन बढी ठाउँमा भत्केबिग्रेको सांसद राईले बताए।

जिल्लावासीका लागि सबभन्दा सजिलो र बिचमा पर्ने नाका फोक्सिङटारको पुल नै बगेको, फोक्सिङटारभन्दा तल र माथि सुन नदीकै ६ वटा झोलुंगे पुलहरू पनि भत्केकाले दुई जिल्लावासीलाई आउजाउ गर्न धेरै कठिनाइ भइरहेको कुरा सरकारलाई जानकारी गराएको उनले बताए।

प्रदेश सरकारका पूर्वमन्त्रीसमेत भइसकेका सांसद राईले पुल र लोकमार्ग मात्र क्षति नगरेर बाढीपहिरोले सयौं ठाउँमा सिँचाइ कुलो, स्थानीय सडक, खानेपानी योजनाका पाइप, घर, गोठ, पशुचौपाया र पन्छी तथा अन्नबालीमा पनि ठूलो क्षति पुगेको सांसद राईले बताए।

भौतिक संरचनाको पुनर्निर्माण र मर्मतसँगै कृषक र बाढीपहिरोपीडित स्थानीयलाई राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष माग गरेको उनले बताएका छन्।

प्रधानमन्त्री ओलीले ध्यानाकर्षण पत्र बुझ्दै फोक्सिङटारको पुल पुनर्निर्माण कार्य थाल्ने र तत्काललाई अस्थायी बेलिब्रिज जडान गर्न अब बस्ने मन्त्रिपरिषद् बैठकमै निर्णय गर्ने प्रतिबद्धता जनाएको राईले बताए। आफूहरूको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएको उनले बताए।

‘हाम्रो मागप्रति उहाँ सकारात्मक देखिनुभएको छ, फोक्सिङटार जिल्लावासीको लाइफलाइन नाका भएकाले पनि तत्काल पुल नभई नहुने अवस्था छ,’ सांसद राईले भने, ‘यसको गम्भीरतालाई बुभेरै तत्काल कदम चाल्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभएको छ।’

बाढीपहिरोले खोटाङमा पुर्‍याएको अपूरणीय क्षतिको विषयमा समीक्षा गर्दै तत्काल पुनर्निर्माण र मर्मत तथा राहत व्यवस्थापनका लागि असोज २३ गते सांसद राईले सर्वपक्षीय भेला काठमाडौंमै बोलाएका थिए। त्यहाँ सम्पन्न सर्वदलीय/सर्वपक्षीय भेलाले क्षति विवरणसहित आवश्यक राहत, पुनर्निर्माण र मर्मतका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीहरूको ध्यानाकर्षण गराउने निर्णय गरेअनुसार कार्य सुरु गरिएको हो।

प्रतिनिधिसभा सदस्य पासाङसँगै खोटाङबाटै निर्वाचित प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्यहरू समिता कार्की, दुर्गाजयन्ती राई, उषाकला राई, राजनीतिक अगुवा हरि रोका, अर्जुन राई र हीरा गुरुङ टोलीमा सहभागी थिए।

त्यस्तै पूर्व सांसदहरू टंक राई, कुलप्रसाद फुँयाल, पूर्व प्रदेश सामाजिक विकास मन्त्री राजन राई, दिक्तेल रूपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए।

अविरल वर्षाले उदयपुरतर्फ रौतामाई गाउँपालिका–५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबिचमा पर्ने फोक्सिङटारको पुल बगाएर गाईघाट दिक्तेलको सोझो यातायात सम्पर्क विच्छेद भएको छ।

त्यसैगरी जिल्लाका आन्तरिक ग्रामीण सडकहरू ९० प्रतिशत ध्वस्त भएका कारण सदरमुकामदेखि स्थानीय तहबिचको आउजाउमा पनि कठिनाइ उत्पन्न भएको छ।

बाढीले पहिरो खसेका कारण अवरुद्ध हुन पुगेको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–हलेसी–दिक्तेल र दिक्तेल–चखेवा भन्ज्याङ खण्डको पहिरो पन्छाएपछि केही दिनयता यातायात सुचारु भएको छ।

१२ गतेकै बाढीले उदयपुरसँग जोडिएका वंशीलालघाट, धाब्लाङ, भँडारेघाट, भाडबेँसी, कुनाई र नैकुघाटका झोलुंगे पुल पनि भत्काएको थियो। ती पुल भने सम्बन्धित स्थानीय तहले साता दिनसम्म लगाएर मर्मत गरेपछि काम चलाउ सञ्चालनमा आएका छन्। 

प्रकाशित: ३ कार्तिक २०८१ ०८:४८ शनिबार