समाज

भरतपुर अस्पतालमा चोरको बिगबिगी, कर्मचारी नै चोरीमा संलग्न

भरतपुर अस्पतालमा चोरको बिगबिगी बढेको छ। अस्पतालको ओपीडी, आइसीयू वार्डका बिरामीका कुरूवाहरूको मोवाइल, नगदका साथै अस्पताल प्रशासनका जिन्सी सामानसमेत चोरी हुने गरेको पाइएको छ। अस्पताल प्रशासनका अनुसार चोरीका घटनाको उजुरी दैनिक तीनदेखि चार वटा आउने गरेका छन्। ‘यस अस्पतालमा चोरीका घट्ना भइरहेका छन्,’ भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने ‘हामी कहाँ मोवाईल र पकेटमारको उजुरी दैनिक चारवटा सम्म आउने गरेको छ।’

यसरी बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो। करारमा रहेका ती कर्मचारीलाई निस्कासन समेत गरिएको अस्पतालका प्रमुख प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसरी कर्मचारी नै चोरीमा संलग्न भेटिएपछि अस्पताल परिसर असुरक्षित बन्दै गएको छ।

‘बिरामी लिएर आउँदा मानिसहरुमा तनाव हुन्छ, चोरहरुले झोलाबाट समेत मोवाईल पैसा झिक्ने गर्दछन्’, भरतपुर अस्पतालमा आएका शिवनगरका हेमबहादुर गुरुङले भने ‘अघिल्लो वार्डमा बिरामी कुरीरहेको समयमा मेरोसमेत पाँच हजार रुपैयाँ हराएको थियो ।’ बिरामी कुरुवाहरुसँग बिरामीको उपचार गर्न ल्याएको पैसा हुन सक्ने आशंकाले चोरहरुले झोलाबाट पैसा झिने गरेका छन् ।  

अस्पतालमा सिसिटिभी क्यामरा सञ्चालन गरिएपनि चोरी नियन्त्रण हुन सकेका छैनन् । अस्पतालका भित्ताभित्तामा तपाई सिसिटिभी क्यामराको निगरानीमा हुनुहुन्छ भनेर लेखिएपनि बिरामी र कुरुवाको सामान सुरक्षित छैन ।

अस्पताल प्रशासनकै जिन्सी सामग्र्रीसमेत कर्मचारीले बोकेर घर लैजाने गरेको पाईएको छ । दशैँताका आँखा विभागमा कार्यरत छैटौँ तहका प्यारामेडिक्स कर्मचारीले अस्पतालको म्याटेस समेत चोरेर लगेको पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार, उनले आफ्नो मेडिकलमा अस्पतालको सामान लगेको अवस्थामा फेला परेको हो । स्थायी कर्मचारी रहेका उनलाई प्रशासनले २० हजार रुपैयाँ जरिवाना समेत तिराएको छ । तर, चोरी जस्तो जगन्य अपराधलाई अस्पतालले सामान्य रुपमा लिएको छ ।  

भरतपुर अस्पतालका सुपरभाइजर अजय सुवेदीले चोरहरुलाई समातेर प्रहरीलाई समेत बुझाउने गरेको बताएका छन् । ‘अस्पतालमा केही एचआईभी र टिभीजस्ता रोग भएका व्यक्तिसमेत सामेल भएको भेटाएका छौँ’, उनले भने ‘उनीहरुलाई पक्रेर चारपाटे मोडेर पनि हिडाएका छौँ तर, चोरीका घटना घटेका छैनौँ ।’ अस्पताल सार्वजनिकस्थान भएकाले पनि चोरी नियन्त्रण गर्न कठिन भएको उनको भनाई छ ।  

भरतपुर अस्पतालमा चोरी भएका घट्नाको उजुरी जिल्ला प्रहरी कार्यालय चितवन समेत आउने गरेको प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिए ।  

‘भरतपुर अस्पतालमा हाम्रो प्रहरी यूनिट समेत छ । त्यहाँबाट कहिले काही उजुरी आउने गरेका छन् तर, काठमाण्डौँका अस्पतालमा जस्तो होइन यहाँ सामान्य नै छ’, उनले भने ।  

 

प्रकाशित: २ कार्तिक २०८१ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App