समाज

उदयपुरगढी कालोपत्रे सडकले जोडिँदै

नेपाटार–उदयपुरगढी जोड्ने निर्माणाधीन सडक।

जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी–नेपालटार खण्ड सडक कालोपत्रेसहित स्तरोन्नति कार्य भइरहेको छ। मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्ड नेपालटारदेखि उदयपुरगढी गाउँपालिका ५ नं. वडास्थित गाउँपालिका केन्द्र जोडिने सडक आउँदो ४ महिनाभित्र सक्ने गरी निर्माण कार्य धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ।

नेपालटारदेखि पुरानो गढीसम्मको ९ किलोमिटरमध्ये गाउँपालिका मुकामसम्म ८ किमी  सडक २ खण्डमा ठेक्का सम्झौता भई काम भइरहेको छ। २ करोड ४० लाखको प्राविधिक इस्टीमेटको ४ किमी तल्लो खण्डको ठेक्का झण्डै ६० प्रतिशत कम मूल्य (बिलो) अर्थात १ करोड १६ लाख ८२ हजार २ सय ९६ रुपैँयामा लागेको छ।

डिसी/गलान/बबिता/लोप्चन जेवीले कामको जिम्मा लिएको तल्लो खण्ड हालसम्म ९० प्रतिशत सकिइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए। ०८० चैत ८ गते सम्झौता भएको काम ६ महिनाभित्र अर्थात ०८१ असोज २८ गतेभित्र सक्नुपर्नेमा अविरल वर्षाका कारण केही काम बाँकी रहेको उनले बताए।

त्यसैगरी ४ किमी दूरीकै माथिल्लो खण्ड निर्माणका लागि ७६ लाखमा ठेक्का सम्झौता भएको छ। १ करोड ७० लाख लागत इस्टीमेटको सो खण्ड पनि झण्डै ६० प्रतिशत विलोमै सिग्दन कन्स्ट्रक्सनले ठेक्का लिएको हाकिम गुरागाईँले बताए। सो खण्डको काम भने ७० प्रतिशत हाराहारी मात्र सम्पन्न भएको छ। एकै दिन ठेक्का सम्झौता भएको दुवै खण्ड सडक म्यादभित्र सम्पन्न नभएपछि आगामी माघ मसान्तभित्र सक्ने गरी ४ महिना अवधि थपिदिएको हाकिम गुरागाईँले बताएका छन्।

दुवै खण्ड सडकको भौतिक प्रगति ९० र ७० प्रतिशत भए पनि वित्तीय प्रगति भने ५० प्रतिशत मात्र भएको गाउँपालिकाका लेखापाल शेखर बुढाथोकीले बताए। लेखापाल बुढाथोकीका अनुसार तल्लो खण्डको भुक्तानी ८० लाख हाराहारी भएको छ भने माथिल्लो खण्डको ३६ लाख केही बढी भएको छ।

गाउँपालिकाका सूचना अधिकार पुष्पकुमार थापाले दुवै निर्माणाधीन खण्डको सडक सङ्घीय र प्रदेश सरकारको साझेदारीमा भइरहेको बताए। थापाका अनुसार तल्लो खण्ड सङ्घीय सरकारको सम्पूरक बजेटमा र माथिल्लो खण्ड प्रदेश सम्पूरक बजेटमा गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेको हो।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले प्रचुर पर्यटन सम्भावना बोकेको उदयपुरगढीलाई राष्ट्रिय लोकमार्गसँग जोड्ने गरी सो सडक कालोपत्रेसहित स्तरोन्नति कार्य गरिएको बताए। अध्यक्ष मगरले स्तरोन्नति कार्य सकिने बित्तिकै कालोपत्रे गर्ने काम सुरु गरिहाल्ने जानकारी पनि दिएका छन्। सकेसम्म चालु वर्षभित्रै मदन भण्डारी सडकजस्तै अस्फाल्ट प्रविधिको कालोपत्रे गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष मगरले बताए।

जिल्लाको पुरानो सदरमुकाम भएकाले उदयपुरगढी ऐतिहासिक, सामरिक तथा पुरातात्त्विक महत्वले भरिपूर्ण रहेको छ। सडक कालोपत्रे भएपछि उदयपुरगढीको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा पनि गाउँपालिकाले गरेको छ। ८ वटा वडा रहेको गाउँपालिकाको ७, ८ नं. वडाको पूर्वी दक्षिणतर्फको झण्डै २० किलोमिटर दूरी भूभाग पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी लोकमार्गले छोएको छ। 

प्रकाशित: २ कार्तिक २०८१ ११:४० शुक्रबार