समाज

नेतृ अञ्जनाको संयोजनमा उठेको सहयाेग रकम घाइते मगरकाे परिवारलाई हस्तान्तरण

ताप्लेजुङको फुङलिङस्थित हेलिप्याड क्षेत्रमा भएको साइकल दुर्घटनामा परी गम्भीर घाइते फुङलिङ निवासी विवश मगरको उपचार सहयोगका लागि युवा नेतृ अञ्जना कडरिया कटुवालले १ लाख ६८ हजार बढी रकम सहयोग जुटाई परिवारलाई हस्तान्तरण गरेकी छन्।

उनले मगरको उपचार सहयोगका लागि अभियान चलाएकी थिइन्। अभियानमार्फत संकलन भएको १ लाख ६८ हजार १ सय ७० रुपैयाँ अञ्जनाले विवशका बुवा गणेश मगरलाई घरमै पुगेर हस्तान्तरण गरेकी छन्। उनले सहयोग संकलन अभियानमा साथ र सहयोग गर्नेहरूको नामावली सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पनि गरेकी छन्।

गत चैत १९ गते साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका विवशको अहिले पनि उपचार जारी छ। साइकलबाट लडेर बेहोस भएका मगरको ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि झापाको बिर्तासिटी अस्पतालमा टाउको, घाँटी, नाक र गालाको अप्रेसन गर्नुपरेको थियो।

उपचार अहिले पनि जारी रहेको विवशका बुवा गणेशले जानकारी दिए। अहिलेससम्म १५ लाख जति रुपैयाँ खर्च भइसकेको उनले बताए। पहिला राखिएको स्टिल खोल्नुपर्ने र थप शल्यक्रिया गर्नुपर्ने भएकाले विवशलाई उपचारका लागि फेरि अस्पतालतर्फ लगिएको छ।

विवशको उपचार सहयोग संकलनका लागि उनका परिवारले समेत सहयोग संकलन अभियान चलाइरहेका छन्। अञ्जनाले यसअघि सिदिङवा गाउँपालिका वडा-६ मेहेलेमा घाँस काट्ने क्रममा लडेर घाइते तिर्सना राईको उपचार सहयोगका लागि १९ हजार ५ सय रुपैयाँ सहयोग जुटाएकी थिइन्।

प्रकाशित: २ कार्तिक २०८१ ११:०६ शुक्रबार

# Contribution amount raised # Those who supported and supported the campaign