महिला र पुरुषहरू मिलेर हातमा तरवार, खुँडा, खुकुरी जस्ता हतियार लिएर ‘वाखै भाइ हो ह...’ भन्दै सराएँ नाच्ने गर्दछन्। बडादसैंको दिनदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका कोट तथा शक्तिपीठहरूमा सराँय नाच हुन्छ। सराँय नाच अर्घाखाँचीको मौलिक नाच हो।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना साथै सबै समुदायबीच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराँय नाच नाचिन्छ। सराँय महिला, पुरुष मात्र नभई सबै जातजाती एकैठाँउ भएर नाचिने नाच हो।
विजयादशमीको दशमीदेखि पूर्णिमासम्म जिल्लाका अधिकांश कोट तथा शक्ति पीठहरूमा नाचिने सराँय नाच चैते दशैमा पनि केही ठाँउमा नाचिने गरिन्छ।
हिन्दूहरूको महान पर्व बडादशैंमा नाचिने सराएँ नाच एकादशीको दिन सन्धिखर्क, द्वादशीको दिन शितगंगा नगरपालिकाको ठाडादह, भुमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्कको खाँचीकोट, भुमिकास्थानको ताराखसे, भुमिकास्थानकै पाकु, चतुर्दशीको दिन मालारानी गाँउपालिकाको हंसपुर राँगामारे, सन्धिखर्कको कुर र पूर्णिमाको दिन भुमिकास्थानको सुवर्णखाल, पाणिनीको मालिका मन्दिर र सन्धिखर्कको अर्घा दरबारमा नाचिने गरिन्छ। अर्घाको अर्घा भगवती मन्दिरमा सराँय नाच, पूर्णिमा मेला सहित फूलपाती विसर्जन गरेपछि यस वर्षको बडादशैं औपचारिक रूपमा समापन भएको यहाँका वासिन्दाको मान्यता छ।
तरवार, खुँडा, खुकुरी लगायतका हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरूको प्रतीक आलमलाई समेत लिएर नाचिन्छ। हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुसी हुने जनविश्वास छ। अर्घाखाँचीबाट बसाइसराइ गरी रुपन्देही र कपिलवस्तु गएकाहरूले पनि सराँय नाच निकाल्छन्।
अर्घाखाँचीको विभिन्न क्षेत्रबाट बसाइँ सरेर गएका वासिन्दाले सराँय नाचको विस्तार गरिरहेका छन्। भुमिकास्थानको ढिकुराबाट बसाइसराइ गरी रुपन्देहीको नयाँगाउँ बस्ने बलराम घिमिरेले रुपन्देहीमा पनी सराएँ नाचको विस्तार हुन लागेको बताए।
सराँय नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ। किम्बदन्ती अनुसार देवीले राक्षस महिसासुर र शुम्भको वध गरेको खुशियालीमा सराँय नाच्न थालिएको हो। खाँचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो। त्यसबेलादेखि खाँचीकोट दरबारलाई विशेष महत्त्वको रूपमा हेर्न थालिएको थियो।
चन्द्रावतीले मावती घरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता रहेको स्थानीय समाजसेवी प्रीतम थापाले बताए। यसैका कारण खाँचीकोट दरबारलाई महत्त्वको रूपमा लिइने र त्रयोदशीका दिन सराँय नाच विशेष हुने उनले बताए।
दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सवस्वरूप सराँय जात्रा गरिँदै आइएको छ। अर्घाखाँचीको अर्घादरबारमा यस क्षेत्रकै ऐतिहासिक सराँय जात्रा नै लाग्छ। यहाँ पूर्णिमाको दिन सराँय नाच हुन्छ। अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराँय नाचको छुट्टै महत्त्व र इतिहास छ।
कोतहरूमा पशुबलि पनि दिइन्छ। सराँय नाच्न कहिलेदेखि सुरु गरियो भन्ने स्पष्ट नभए पनि सयौं वर्षदेखि देवीलाई खुशी पार्न यो नाच नाच्ने प्रचलन रहिआएको र आफूहरूले परम्परालाई पच्छाएको सरोकावालाहरूको भनाइ छ।
कोजाग्रत पूर्णिमामा सराँय विसर्जन गरेपछि औपचारिक रूपमा दसैं सकिएको मान्यता रहँदै आएको छ ।
प्रकाशित: २ कार्तिक २०८१ ०९:४९ शुक्रबार