समाज

कर्णालीमा काम नगर्ने ठेकेदारलाई ताकेता

कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्कामा लागेका ३३ वटा आयोजनाको काम सन्तोषजनक नहुँदा भौतिक पूर्वाधार राज्य मन्त्री, सचिवसहितको टोलीहरू अनुगमन गर्दै ठेकेदारलाई समयमै काम सक्न ताकेता गरेका छन्। ठेक्का लिएर सुस्त गतिमा काम भएको ३३ वटा आयोजनालाई समयमै सक्न मन्त्रालयले कारबाहीको चेतावनीसहित ताकेता गरेको हो। 

भौतिक योजना राज्य मन्त्री गमता विक, सचिव विष्णु भण्डारी, वरिष्ठ सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदी, सिनियर इन्जिनियर प्रविण कार्कीसहितको टोली बिहीबार दैलेखमा रहेको आयोजनाहरुको अनुगमन गरेको छ। दैलेख नौमुले सडकमा ठेकेदारले सुस्त काम गरेको पाइएपछि सचिव विष्णु भण्डारीले हप्ता दिनभित्र काम सुरु नभए कारबाही गर्ने ठेकेदारलाई चेतावनी दिए।

उनीहरुले दैलेखमा ३ वटा सडक र दुई पक्की पुलको अनुगमन गरेका थिए। सुस्त गतिमा काम गरेको कर्णालीका ३३ आयोजनालाई समयमै काम सक्न भनेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव विष्णु भण्डारीले बताए। यो वर्ष काम नसके मन्त्रालय कठोर भएर कम्पनीहरूलाई कारबाही गर्ने तयारी समेत गरेको छ।

जाजरकोटमा ५ वटा, डोल्पामा १ वटा, कालिकोटमा ४ वटा, दैलेखमा ५ वटा, सुर्खेतमा ७वटा, हुम्लामा २ वटा, जुम्लामा १ वटा, मुगुमा ४ वटा, रुकुम पश्चिममा २ वटा र सल्यानमा २ गरी ३३ वटा आयोजनाको काम सुस्त गतिमा भएको पाइएको हो। यी आयोजना ३ देखि ५ वर्षदेखि ठेकेदारले सुस्त गतिमा काम गरेको हो।

नौमुले जाने सडक महत्त्वपूर्ण रणनीतिक सडक रहेको छ। नौमुलेबाट जाजरकोटको जुनिचाँदे गाउँपालिकासम्म पुग्छ। नालासहित कालोपत्रे योजना रहेको छ। खुसानीबारीबाट नौमुलेतिर साडे ९ किलोमिटर कालोपत्रेका लागि बिरुवा/सिद्धान्त/श्रीङगेश्वर जेभी दोलखाले भ्याटसहित १९ करोड ९२ लाख कबोलमा २०७८ भदौ १३ गते सम्झौता गरेको थियो। २०८० भदौ १३ म्याद सकिएको छ । सुस्त गतिमा काम भएको हुँदा अझै म्याद थपिएको छैन।

दसैँमा विद्यामा कामदार घर गएको र,साइटमा मन्त्री र सचिव ज्यूहरू पनि आएर काम गर्न ताकेता गरेकाले अव हप्ता दिनभित्र काम सुरु हुने ठेकेदार कम्पनीका इन्जिनियर सूर्य रेग्मीले बताए। नौमुले जोड्ने सडक एउटा प्रतिनिधि आयोजना भएपनि कर्णालीमा ३३ वटा आयोजना ठेकेदारले समयमा गर्न नसक्दा प्रदेश सरकारकै टाउको दुखाई भएको छ।

कर्णालीमा ठेकेदारले समयमै काम नगर्ने कम्पन्नीहरुलाई चेतावनीसहित मन्त्रालय कारबाही गर्ने तयारी रहेको छ। बहुवर्षिय तथा श्रोत सुनिश्चिते भएका योजनाहरू बहु वर्षीय तथा स्रोत सुनिश्चिते भएका आयोजनाहरू पनि ठेकेदारले काम गर्न सकेका छैनन्। जसका कारण पूर्वाधार विकास कार्यालयलाई प्रगति देखाउन गाह्रो भएको छ। ३३ वटै आयोजनाको जिम्मा लिएका निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयले समयमै काम सक्न चेतावनी पत्र पठाई सकेको जनाइएको छ। 

प्रकाशित: १ कार्तिक २०८१ १४:३४ बिहीबार