समाज

तास खेल्दै गरेका पूर्व वडा अध्यक्षसहित ८ पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका-६ बाट तास खेल्दै गरेको अवस्थामा पूर्व वडा अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। मध्यराति १२ बजेको समयमा मनहरी गाउँपालिका-६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मनहरी ६ का पूर्व वडाध्यक्ष गोपीलाल मोक्तानसहित सोही वडाको ८ जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार मनहरी-६ का ४७ वर्षका रेशम तामाङ, २४ वर्षका रविन मोक्तान, ४२ वर्षका अशोक राई, ४० वर्षका कृष्ण थिङ, ४० कै कृष्ण पाख्रिन, ४५ वर्षका सन्तोष राई र ३३ वर्षका विष्णु पाख्रिन रहेका छन्।

जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ४५ हजार ४४५ रुपैयाँ नगद र १० बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

प्रकाशित: १ कार्तिक २०८१ ११:१२ बिहीबार