समाज

लिक्मामा मनाइयो चतुर्दशी दसैं

आश्विन शुक्ल चतुर्दशी। अर्थात् चतुर्दशी दसैं। आज गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको छ।

दुर्गा भवानीको पूजाआजा गरी राँगोको बलि दिएर सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामना र संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको हो।

राँगालाई महिषासुरको प्रतीक मानेर गाउँघरमा डुलाई पूजाआजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमवासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।

राँगो बलि दिनुअघि दसैंको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ।

चतुर्दशी दसैंमा डेउढाको रमाइलोसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट हुने अवसर प्राप्त हुने गरेको बताउँदै गौरी गंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर-५ का वडा अध्यक्ष विष्णु भाटले भने, चतुर्दशी दसैं सुदूरपश्चिमको एक मौलिक र सांस्कृतिक पर्व पनि हो, जहाँ सुदूरपश्चिमबासीको प्रगतिको कामना गर्दै संकल्प पनि बोलिन्छ।

राँगो बलि दिइएपछि चतुर्दशी दसैंमा रातभर डेउढा खेल्ने गरिएको उनले बताए। ‘राँगाको बलि दिइसकेपछि यहाँ महिला र पुरुषको दोहोरो डेउढा हुने गर्दछ,’ उनले भने, आफन्त र इष्टमित्र मिलेर पनि छुट्टछुट्टै समूह बनाई डेउढा खेल्ने गर्दछन्।’

प्रकाशित: ३० आश्विन २०८१ १७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App