समाज

कुटपीट गरी पुरुषको हत्या, तीनजना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले एकजना पुरुषको हत्यामा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भई हाल कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ हाल कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ हाल नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराई रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीका अनुसार नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्धार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पु¥याएको थियो। उपचारको क्रममा चिकित्सकहरूले  उनलाई मृत घोषित गरेका थिए।

घटनाबारे अनुसन्धान गर्ने क्रममा मगरलाई विभिन्न व्यक्तिहरूले कुटपिट गरेको खुलेपछि थप अनुसन्धान थालेको र ३ जना मङ्गलवार पक्राउ परेका अधिकारीले बताए।

उनले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक फौजामगरलाई उनीहरूले कुटपीट गरी हत्या गरी कर्तव्य गरी मारेको र निजहरू वारदात पश्चात भागी फरार भएको बताए।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटेको टीमले मङ्गलवार साँझ पक्राउ गरी बौद्धमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले बताए। 

प्रकाशित: ३० आश्विन २०८१ १२:५८ बुधबार