समाज

मिथिलाञ्चलमा कोजागरा मनाइँदै

आज कोजाग्रत पूर्णिमा, मिथिला क्षेत्रमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रतलाई मिथिला क्षेत्रमा कोजागरा भन्ने गरिन्छ। जनकपुरधाम स्थित जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ कोजाग्रत पूर्णिमा मनाइने गरिन्छ।

माता सीतालाई छोरीको रुपमा मान्दै महोत्तरीको रतौली गाविसमा विगत एक सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको इतिहास छ। यही प्रचलनलाई ठाकुर परिवारको तेस्रो पुस्ताका पनातिहरू नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन्।

आजकै दिन महोत्तरीको रातौलीवाट शताब्दियौं देखिको परम्परा अनुसार विशेष भार जानकी मन्दिरमा आउने गर्दछ। महोत्तरी रतौलीका जमिन्दार स्व. महेन्द्र प्रसाद ठाकुरले सैयौं वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए।

विधि अनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ। ठाकुरको घरबाट आएको भारको दही च्यूरा पान, मखान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन्।

साथै कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखान, मिसरी सहितका प्रसाद चढाउने गर्दछन् भने आजको दिन मिथिलाञ्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ।

कोजाग्रत पूर्णिमाको राति भगवान राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकाली गीतसंगीतका साथै पान, मखान र बतासाको वर्षाउने गरेका छन्।

त्रेता यूगमा भगवान श्री कृष्ण्ले यसै दिन रास लिला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत वर्षा हुने भएकोले मिथिलाबासीहरु आजैका राति खीर बनाएर आफ्नो छतमा राखी भोलि प्रसादको रुपमा खाने गर्छन्।

त्यसैगरि मिथिला क्षेत्रमा नवविवाहित दुलहाको घरमा कोजाग्रत पुर्णिमाका दिन दुलहीको घरबाट कोसेली लैजाने चलन पनि छ। यस अवसरमा नवविवाहिता बेहुलीको घरबाट पान, मखान, काजु, बतासा, मिस्री लगायतका परिकार कोसेली स्वरूप बेहुलाको घरमा पठाउने गरिन्छ।

बेहुलीको घरबाट आएको पान तथा मखानले बेहुलाको घरमा चुमान भनिने विशेष पूजा गर्ने गरिन्छ। खासगरी आजका दिन ब्राम्हण र कायस्थ जातिमा नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा पान, मखान, चिउरा, दही, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ।

कोजाग्रत पूर्णिमाको रात धनकी देवी लक्ष्मी पृथ्वीमा घुम्न आउने र जसको ढोका खुलेको छ त्यहि घरमा बास गर्ने धार्मिक मान्यता रहिआएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

प्रकाशित: ३० आश्विन २०८१ ०८:१० बुधबार

#mithila #Madhesh