समाज

तेह्र हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निः शुल्क परीक्षण गरेको छ। अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निः शुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा. विजय गौतमले जानकारी दिए। अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निः शुल्क उपचार गरेको उनले बताए।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताए। अस्पतालले आर्थिक वर्ष २०७९/८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उनले बताए।

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले बताए। अस्पतालले सोही अवधिमा कोसी प्रदेशका ५० विद्यालयमा  निःशुल्क आँखा परीक्षण गरेको उनको भनाइ छ।

  सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७  विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए। अस्पतालले विभिन्न स्थानमा निः शुल्क शिविरको आयोजना गर्दै आएको छ। आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उनले बताए।

प्रकाशित: २९ आश्विन २०८१ १०:०० मंगलबार

# Navdrishti Eye Hospital #Free examination of eye patients