समाज

पेस्तोलसहित एकजना पक्राउ

भक्तपुरमा पेस्तोलसहित एजना पक्राउ परेका छन्। हतियारसहित एकजना हिँडिरहेको गोप्य सूचनाको आधारमा सोमवार एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने वर्ष ३६ का प्रेम तामाङ रहेका छन्।  

प्रहरीका अनुसार उनले हतियार बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा गई बुझेको थियो। त्यसपछि निज तामाङ काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थित घरमा रहेको भन्ने अनुसन्धानको क्रममा खुल्न आएको थियो।

निजको स्थायी वतनमा प्रहरी टोली खटिई गई घर खानतलासी गरेको थियो। त्यसपछि निजले अबैध रुपमा लुकाई छिपाई राखेको थान एक पेस्तोल र सो पेस्तोलको म्याग्जिनमा ३ राउण्ड गोली लोड भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। 

उनीसँंग हतियार कानून बमोजिम बरामद गरी निज तामाङलाई दिउँंसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीबारे जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धान सुरु भएको छ।

प्रकाशित: २८ आश्विन २०८१ २१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App