समाज

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ। बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन्। विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन्।

कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन्। त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन्। दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ। अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन्।

कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय आन्तरिकका साथै बाह्य पर्यटक पनि घुम्न आउन थालेका होटल व्यवसायी सुरेश केसी बताए। “पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्”, उनले भने।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन्। मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि यहाँ चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए। मुस्ताङ जाने पर्यटकले  बास बस्न यहाँका होटल बुकिङ गर्ने गरेका उनले बताए।

बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन्। शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको समयमा यहाँ पर्यटकको चहलपपह बढी हुने गरेको छ। रासस

प्रकाशित: २८ आश्विन २०८१ २०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App