समाज

घोडेगाउँमा २३ वर्षपछि बिजुली

जुम्लाको तिला गाउँपालिका-६ घोडेगाउँमा २३ पर्षपछि बिजुली पुगेको छ।

तिला-७ पोखरी गाउँमा निकालिएको सौर्य ऊर्जाको बिजुली घोडेगाउँमा पुर्‍याएर २३ वर्षपछि फेरि बिजुली बालिएको हो। लामो समयपछि बिजुली बल्दा गाउँमा खुसीयाली छाएको छ।

२०५४ सालमा गाउँमै रहेको घट्टेखोलाको पानी प्रयोग गरेर ५ किलोवाटको बिजुली निकालिएको थियो। चार वर्षसम्म निरन्तर बालिएको बिजुली २०५८ सालामा बिग्रिए पछि बिजुली बल्न सकेको थिएन।

तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच चरम द्वन्द्व चलेकोले विद्युत उत्पादन गर्ने मेसिन बनाउने वातवरण बनेन। अन्ततः मेसिन खिया लागेर बिग्रियो। तारहरू जीर्ण हुँदा बिजुली बाल्ने सम्भावना भएन। यसपटक भने गाउँका ८६ वटै घरमा एकसात बिजुली बल्दा स्थानीयको मुहारमा खुसी छाएको छ।

गाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्थादेखि सार्वजनिक स्थलहरूमा बिजलुी नहुँदा काम गर्न कठिन थियो। गाउँलेहरू सल्लाको काठ बालेर उज्यालाको व्यवस्थापन गरिरहेका थिए। बिजुली बलेसँगै गाउँ रातदिन उज्यालो बनेको स्थानीयले बताए।

भौगोलिक रुपमा निकै विकट भएकोले राष्ट्रिय प्रसारणलाइन यो ठाउँमा पुगेको छैन।

मोबाइल चार्ज गर्न स्कुल, स्वास्थ्यचौकी र वडा कार्यालयमा धाउनु परिरहेको थियो। जुन बाध्यता अब हटेको छ।

घोडेगाउँसम्म विद्युत लाइन बिस्तार गर्न तिला गाउँपालिकाले ८ लाख रुपैयँ र केन्द्र सरकारले ५१ लाख रुपिया बिनियोजन गरेको थियो।

गाउँमा निकालिएको ५ किलोवाट विद्युत चार वर्षसम्म निरन्तर चलेको थियो । दसैंको दिनमै गाउँमा बिजुली बल्दा स्थानीय उत्साहित छन्। यस पटकको दसैंमा गाउँ झिलिमिली बनेको छ। अब गाउँमै कुटानी, पिसानीदेखि चिरानी सम्मको काम बिजुलीबाटै हुनेछ। 

प्रकाशित: २८ आश्विन २०८१ १९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App