समाज

जुम्लामा १६ करोड बढीको भेडा र खसीको कारोबार

यस वर्षको दसैँमा यहाँ रु १६ करोड मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ।

सदरमुकाम खलङ्गा बजारमा मात्रै रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए।

यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका हुन्। चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने, “रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजारका खसी र रु ३१ लाख १६ हजारका राँगा भैसी खरिद बिक्री भएका छन्।” स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्युनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो।

जुम्ली खसीको अधितम मूल्य रु २४ हजार र न्यूनतम मूल्य रु आठ हजार भएकामा औसत मूल्य रु १६ हजार निर्धारण गरिएको थियो। अधिकतम् मुल्य रु ५० हजार र न्युनतम मुल्य रु २६ हजारमा किनबेच भइरहेका राँगाभैँसीको औसत मुल्य रु ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ।

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्रीवितरण हुने गरेको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। स्थानीय तहको केन्द्रहरुमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ।

कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा र खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। 

प्रकाशित: २८ आश्विन २०८१ १५:०९ सोमबार