समाज

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।

कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्त्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्। जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। यस वर्षको दसैँको नवरात्रभर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताए।

“कोतघर र मन्दिर पुनः निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ”, उनले भने “मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्न भक्तजन आउने गरेका हुन्।” ताकमकोतको ओदान देवतामा गरेको भाकल पूरा भएमा बली चढाउने चलन छ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालको साथै अग्ला पहाड, ग्रामीण बस्तीहरूको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। समुदायस्तरबाट चन्दा सहयोग जुटाएर विंस २०७५ मा ताकमकोतको जीर्णोद्धार गरिएको थियो। विंस २०७२ को भूकम्पले कोतघर र जगन्नाथ मन्दिर जीर्ण बनेको थियो।

यसैगरी पुरातत्व विभागले कोतघर परिसरमा रामसिता मन्दिर पुनःनिर्माण गरेको छ। समूदाय स्तरबाट चन्दा सङ्कलन गरेर पर्यटकीय आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना गरेका छन्। गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको छ। देविस्थान र ताकम तर्फबाट देउरालीसम्म सडक सञ्जालले जोडिएको छ।

प्रकाशित: २८ आश्विन २०८१ ०८:०१ सोमबार

#myagdi #mela