समाज

ठेक्का लिएको ७ वर्षमा पनि नबनेको तमोर नदी माथिको लिम्बूनी पुलको कथा: दबाब बारबार, काम शून्य

संयुक्त अनुगमनको क्रममा लिम्बूनी पुल निर्माणस्थल पुगेको टोली। तस्बिर: नागरिक।

पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बूनी पुल निर्माणका लागि दशैं–तिहार लगत्तै निर्माण कम्पनी काममा आउने विश्वास नियमक निकायले लिएको छ।

 ठेक्का लागेको झण्डै ७ वर्षमा समेत निर्माण कार्यमा खास प्रगति नभएको उक्त पुल निर्माण कार्य अघि बढाउन निर्माण कम्पनी दशैंतिहारलगत्तै कार्यस्थलमा खटिने नियमक निकाय तमोर करिडोर (मूलघाट–सुभाङखोला–ओलाङचुङगोला) सडक योजना कार्यालयले बताएको छ। ‘हामीले अब अन्तिम पटक मौका दिएका छौं,उहाँहरूले दशैंतिहारलगत्तै निर्माणमा खटिने भन्नुभएको छ’तमोर करिडोर (मूलघाट–सुभाङखोला–ओलाङचुङगोला) सडक योजना कार्यालयका इञ्जिनियर श्रवणकुमार मण्डलले भने।

उनले उक्त अवधिमा पनि निर्माण कम्पनी काममा नआए त्यसपछिको परिस्थिति अर्कै ढंगले अघि बढ्ने जानकारी दिए। लिम्बूनी पुल निर्माणस्थल नजिकको पाँचथरतर्फको भागमा भौर्गभिक अध्ययनको काम समेत सुरु भएको उनको भनाइ छ।

सुक्खा पहिरोका कारण समस्या आउन सक्ने भएकाले कार्यालयकोतर्फबाट निर्माणस्थल नजिकको भागको भौर्गभिक अध्ययनको कार्य पनि अघि बढाइएको मण्डलले जानकारी दिए। ठेक्का लागेको ७ वर्ष पूरा हुन लाग्दा समेत उक्त स्थानमा पक्की पुल बन्ने सुरसार नभएपछि पटकपटक स्थानीय जनप्रतिनिधि र ताप्लेजुङ प्रशासनले नियमित अनुगमन गर्ने र जनदबाब सृजना गर्ने कार्य गर्दै आएका छन्।

पुल निर्माणका लागि नियमित दवाव बढाउँदै आएका ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले कामका लागि गरेको आलटाल सैह्य नभइरहेको प्रतिक्रिया दिए। उनले जिम्मा लिएको काम पूरा गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नहुनु दुःखद् र दुर्भाग्यपूर्ण भएको बताए। ‘काममा आउँछु भन्ने र काम नगर्ने प्रवृत्तिको अन्त्य नभएसम्म यहाँ पुल बन्ने अवस्था देखिदैंन’पोमूले भने।

पुल निर्माणको खास प्रगति नदेखेपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यको नेतृत्व टोलीले समेत पुल निर्माणस्थलको अवलोकन गरेको छ। प्रमुख जिल्ला अधिकारी परिवर्तन भएर आउनेबित्तिकै यो पुलको लथालिङ्ग अवस्थाको अवलोलनका लागि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरू लिम्बूनी पुल पुग्ने गरेका छन्। तर निर्माण कम्पनीले भने पुल निर्माणका लागि खास सम्बेदनशीलता अपनाएको नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा बताउँछन्।

पुल नबन्दा ताप्लेजुङ, पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको उनले बताए। नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ सो स्थानमा पुल नबन्दा तमोर करिडोर समेत ओझेलमा परेकाले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको बताउँछन्।

वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यही हो। पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ। आङ्बुङवारि निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्रयाक ओपन भएको छ।

आङ्बुङतर्फ समेत तमोर करिडोर आइपुगे पनि पक्की पुलको अभावका कारण वारिपारि सडक सञ्जाल जोडिएको छैन। तमोर करिडोर नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रूपमा परिचित छ। ‘यहीं पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सिर्जना गरेको छ’आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले भने।

२०७४ फागुन ६ गते (भ्याट र पिएससहित) २२ करोड पाँच लाख ७७ हजार ८ सय ९० रूपैयाँमा एम÷एस÷सपना÷याक्थुङ जेभी काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौतापछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको देखिँदैन।

ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले निर्माण कम्पनी तत्काल काममा नआए निर्माण कम्पनीको लापरवाहीविरुद्ध जनता सडकमा आउने चेतावनी दिए। भन्छन्, ‘जिम्मा लिएको काम पूरा गर्न हिचकिच गर्ने प्रवृत्तिले नै विकासलाई पछि पार्छ।’

प्रकाशित: २७ आश्विन २०८१ १२:३९ आइतबार