समाज

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी भयो: नगर प्रमुख महतो

बाढी र डुवानबाट चितवनको माडीमा कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीले धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा  नोक्सानी भएको हो।

स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किदा  सडकमा पनि क्षति पुगेको छ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले भने, “मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पुर्‍याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन्।”

खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र  काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उनको भनाइ छ। नगरप्रमुख महतोसँग बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा भएको क्षति तथा पुननिर्माणका प्राथमिकताबारे गरेको कुराकानीको सम्पादित अशंः

पछिल्लो बाढी र डुबानका घटनाबाट यस क्षेत्रका सयौं विघा खेतीयोग्य उब्जाउ जमिन खोलाले कटान गरेको छ। भित्रयाउन ठिक्क बेला भएको धानबाली र बिक्रीका लागि तयारी भइरहेको माछापालनमा ठूलो नोक्सान भयो।

गाँउबस्ती डुवानमा परेर तहसनहस भयो। सहज रुपमा सडक यातायात आवागमनमा अझै असज छ। बाढीले तटबन्धमा क्षति पु¥याएको छ। कुलो र नहरका बाँध भत्किएका छन्।

बाढी र डुवान घटेपछि नगरपालिकासँग भएका डोजर र स्काभेटरसहितका उपकरण प्रयोगलाई प्राथमिकता निर्धारणको कार्ययोजना बनाई सडकमा दसैँका बेला कम्तीमा पनि दमकल, एम्बुलेन्स र पाहुनालाई  घरसम्म पुग्न सक्ने गरी सडक तयार गरियो। तथापी, यस क्षेत्रमा रहेका ठूला खोलामा क्षति भएका पुललगायतका संरचनामा स्थानीय तहको बजेट प्रयोग गरी तत्काल निर्माण गर्न सक्ने सम्भावना भएन।

त्यसका लागि संघ र प्रदेशको सहयोग चाहिन्छ।केही दिनका भगिरथ प्रयासपछि अहिले सामान्यतया सडक यातायात आवतजावत गर्न सकिने अवस्था सिर्जना गरिएको छ। बाढी र डुबानका घटना लगत्तै  दसैँ आएकाले टोल छिमेकीलाई प्रभावित परिवारलाई सहयोग तथा सरसापट, अइँचो–पइँचो गरेर दसैँ मनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ।

चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउने अनुरोध गरेका छौँ। अहिले सरसापट गरेर दसैँ मनाउँला, धान भित्र्याएपछि ऋण तिरौंला भनेर बसेका किसानका सपनालाई बाढीले तुषारापत बनाइ दिएको छ।खेत खण्डहरमा परिणत भएको छ भने माछा बेचेर दसैँ मनाउने सोच बनाएका किसान पोखरीमा बाढी पसेपछि विचल्लीमा परेका हुन्।

यस क्षेत्रका एउटा  किसान परिवारको कम्तीम रु ५० हजारदेखि  १० लाखसम्म किसान क्षति भएको छ। माडी धान र माछा उत्पादनमा मुलुकमै कहलिएको क्षेत्र हो।

खासगरी स्थानीय घाँघर खोलाले ठूलो क्षति पुर्‍यायो भने रिउलगायतका चुरेबाट निष्कने ससना खोला र खहरेले पनि उत्तिकै नोक्सानी पुर्‍याएको छ। खेतमा अहिले ढुङगा र बालुवा थुप्रिएको छ।

नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। केही प्रभावित परिवारलाई सङ्घ संस्थाको सहयोगमा केही राहत वितरण गरिएको छ।

विपद्का बेला आफूले मात्रै होइन, दसैँ मनाउन छिमेकीलाई पनि सरसहयोग गरौँ भनेर नगरपालिकाले सबैलाई आह्वान गरेको छ।  उनीहरूले पनि अप्ठ्यारो र गाह्रो परेकालाई सहयोग गर्दै छन्।

प्रकाशित: २७ आश्विन २०८१ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App