समाज

दशहरा मेलामा रावण बध गरिँदै

नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको शनिवार १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ।

रामलिला नाटक प्रदर्शनीमा शनिवार ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ। यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महामहोत्सवमा शनिवार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए।

रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको सुरु भएको छ।

शनिवार साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ। समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गर्ने छन्।

आइतवार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ। रामलिला मैदानमा शनिवारकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरु आउने गर्दछन्।

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलसमेत राखिएका छन्। महोत्सव आसपासका सडकहरु झिलीमिली पारीएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

वर्षौँदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए। रासस

प्रकाशित: २६ आश्विन २०८१ १५:५६ शनिबार

#rawan #khajura