समाज

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

मुटु रोगको उपचार गराउन लाइनमा बसेका जुम्लाका मुटुरोगीहरू। तस्बिरः नागरिक

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ। यसअघि मुटुरोगीहरूले उपचार गराउनकै लागि महंगो खर्च गर्नुपथ्र्यो।

मनमोहन कार्डियोथोरेसिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन। जुम्लामा मुटुरोगी र ओषधी सेवन गर्नेको संख्या धेरै छ, शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, निशुल्क मुटुरोग स्वास्थ्य शिविर मार्फत बिरामीलाई उपचार गर्न थालिएको हो।

मुटु रोग विशेषज्ञ सेवा दुई दिन सम्म चल्नेछ। जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा. कोईरालाको टिमलाई अनुरोध गरिएको थियो। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुदा उपचार हुन सकेको छैन। मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिइने भएको छ।

जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर चेकजाँच गर्न पाउँदा स्थानीय दंग छन। बालबालिका देखि वृद्धवृद्धा सम्मका मुटुरोगीले नाम दर्ता गराएका छन। चन्दननाथ नगरपालिका ७ का ४० वर्षीया जय बहादुर महतले आगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउदा खुसी भएको बताए।

उनका अनुसार मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सबै उपकरण सहित टोली जुम्लामा पुगेको छ।  मलाई एक्कासी प्रेसर बढेको थियो, उनले भने, पहिलो पटक चेकजाँच गराउन पाए। विशेषज्ञ चिकित्सक संग मुटुको उपचार गराउनको लागि बिरामीलाई टोकन वितरण गरिएको छ। टोकन लिएर उपचार गराउने वातावरण सृजना गरिएको हो।

 

प्रकाशित: २३ चैत्र २०७४ ०७:०४ शुक्रबार

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा