समाज

पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ वस्तुमा रहेको विचित्र गुफा साँच्चिकै विचित्रको छ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए। लामो सयमदेखि विचित्र गुफा हेर्न आन्तरिक पर्यटकहरू मात्र पुग्ने गर्दथे। पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन्। यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको छ। यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ। स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खान गएको अवस्थामा ढेडुबाँदरलाई लखेट्ने क्रममा ढेडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ।

उक्त ढेँडुबाँदर अचानक पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए।

विचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ। गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्त्वबारे जानकारी गराउने चलन छ। गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्ने गर्छ।

विचित्र गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो। यो निकै नै महत्त्वपूर्ण मानिन्छ। ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ। स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ। स्वर्ग जाने बाटो एकदमै साँगुरो छ। त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो। त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ। त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यको रूपमा मानिन्छ।

जो मानिस त्यहाँ भित्र छिर्न सक्छ उसले आफूलाई साह्रै भाग्यमानी ठान्दछ। गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यलाई थप लाली थपिदिएको छ। गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी दुई करोड रूपैयाँभन्दा बढी लागत लागेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए। सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न मदन भण्डारी राजमार्ग भएर सकिन्छ।

प्रकाशित: २६ आश्विन २०८१ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App