समाज

शुभ साइतसँगै विजयादशमी मनाइँदै, टीका र जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने

बडादशैँको मुख्य दिन आज टीका। विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा सर्वसाधारणले मान्यजनको हातबाट टीका र जमरा लगाइएको छ। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको हो। घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाउने गरिन्छ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ।

बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेपनि साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।सास्त्रीय मान्यता अनुसार टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ र लगाइमाग्ने व्यक्ति पूर्वतिर फर्केर टीका र आशीर्वाद ग्रहण गर्न उत्तम मानिन्छ। त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।आगामी ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व पनि सकिनेछ ।  

प्रकाशित: २६ आश्विन २०८१ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App