समाज

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

दसैँमा सार्वजनिक यातायात कम सञ्चालन हुँदा सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा बस चलाउने भएको छ। सर्वसाधारणको आवतजावतलाई सहजीकरण गर्न प्रहरीले काठमाडौँ उपत्यकामा आज र भोलि २ वटा बस निःशुल्क चलाउने भएको हो।

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए। कार्कीले दसैँमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने हुँदा सर्वसाधारणको यात्रालाई सहज बनाउन निःशुल्क बस चलाउन लागिएको जानकारी दिए। उनका अनुसार एउटा बस बस रिङरोड चल्ने छ भने अर्को बस रिङरोड बाहिर चल्ने छ।

काठमाडौँ उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ।

अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्ने गरिको रुट तय गरिएको छ।

प्रकाशित: २५ आश्विन २०८१ ०७:३७ शुक्रबार

#nepalpolice #Bus