समाज

नेपाली र अमेरिकीबिच समलिंगी विवाह: प्रजित र जोय प्रणय सूत्रमा

मुलुकमै पहिलो पटक अलग–अलग मुलुकका नागरिकबिच समलिंगी विवाह वैदिक र कानुनी विधिपूर्वक सम्पन्न भएको छ । नेपाली युवा प्रजित बुढाथोकी र अमेरिकी नागरिक जोय फोस्टर एलिसबीच बिहीबार राजधानी काठमाडौंमा दुई ब्राह्मण पुरोहितले मन्त्रोच्चारणका साथ विवाह गराएका हुन् ।

लगत्तै क्रिस्चियन पुरोहितले वैवाहिक वाचा बँधाएर उनीहरू दुवै अब आइन्दा हस्बेन्ड–हस्बेन्ड (पति–पति) भएको घोषणा गरेका थिए । कानुनी रूपमा धरान उपनगरपालिकामा विवाह दर्ता भएपछि उनीहरूले धार्मिक विधिबाट समेत विवाह गरेका हुन् । 

पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि यो विवाह सम्भव भएको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले सरकारलाई ‘लैङ्गिक अल्पसंख्यक र गैर परम्परागत जोडी’ को विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी यस्ता विवाहलाई अस्थायी रूपमा दर्ता गर्न आदेश दिएपछि विवाह सम्भव भएको हो ।

सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन सरकारलाई अन्तरिम आदेश दिएपछि लमजुङको दोर्दी गाउँपालिकाले गत वर्ष मंसिर १३ गते सुरेन्द्र पाण्डे र माया गुरुङको विवाह दर्ता गरेको थियो । 

राजधानीमा सम्पन्न प्रजित र जोयको विवाह सम्पन्न गराउन पशुपतिबाटै दुई पुरोहित ल्याइएको थियो । ‘माया जसले गरे पनि हाम्रो शास्त्रले स्वीकार गरेको छ,’ विवाह सम्पन्न गराएपछि पुरोहित शिवराज रेग्मीले भने, ‘यस्तो विवाह गराउन पाउनु खुसीको कुरा हो । सेवा नै धर्म हो ।”

हिन्दु विधिबाट विवाह गरेपछि क्रिस्चियन पादरी मार्क लोडिकोले उनीहरूलाई वैवाहिक बाचासहित औँठी साट्न आदेश दिएका थिए । ‘तिमीले मलाई जे जस्तो रूपमा छु, त्यसरी नै स्वीकार्‍यौं,’ औँठी साट्दै गर्दा जोयले भावुक हुँदै भने, ‘म हाम्रो साझा भविष्यप्रति उत्सुक छ । म तिमीलाई धेरै माया गर्छु ।’

औँठी साट्दै गर्दा यी दुई मात्र होइन उपस्थित सबै भावुक भएका थिए । दुवै दुलाहाको तर्फबाट पूर्व सांसद एवं समलिंगी समुदायका अभियन्ता सुनिलबाबु पन्तले पिताको भूमिका निर्वाह गरेका थिए । अमेरिकी दूतावासका प्रवक्ताले नव विवाहित जोडीलाई बधाई दिँदै भनेका छन्, ‘यो मिलनले नेपालमा एलजिबिटिब्युआइप्लस जोडीप्रतिको व्यापक समानता र स्वीकारोक्तिलाई प्रकट गरेको छ ।’

समलिंगी विवाहको खुसी (तस्बिरमा हेर्नुहोस्)

प्रकाशित: २४ आश्विन २०८१ १८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App