समाज

दसैंका लागि काँक्रो टिप्न व्यस्त किसान (तस्बिरहरू)

एक साता अघि ५ रुपैयाँमा बेचेको काँक्रो ४५मा बिक्री हुँदा किसान दङ्ग

भरतपुर महानगरपालिका–२५ स्थित अमृत नगरका केदार आचार्य व्यवसायीक कृषक हुन्।

आचार्यलाई एक हप्ता अगाडीसम्म प्रतिकिलो पाँच रुपैयाँमा पनि काँक्रो बिक्री गर्न मुस्किल थियो। आजभोलि भने सोही काँक्रोलाई प्रतिकिलो ४५ रुपैयाँमा बेच्न पाउँदा उनी दङ्ग छन्।

‘दसैँलाई लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएको थिएँ। एक हप्ता अगाडि मूल्य नहुँदा लगानी नउठ्ने हो कि जस्तो लागेको थियो’, बारीमा काँक्रो टिप्दै गर्दा भेटिएका आचार्यले भने ‘काँक्रो मूल्य एक्कासि बढ्दा खुसी लागेको छ।’

बाग्लुङको जैमिनी नगरपालिका १० स्थित पाही स्थायी घर भएका आचार्य चितवन झरेर तरकारी खेती गरेको एक वर्ष भयो। उनले यसभन्दा अगाडि काँक्रो लगाएका थिएन्। पहिलो वर्ष नै काँक्रोबाट राम्रो आम्दानी हुने आसमा उनी छन्। 

‘काँक्रो लगाएको मेरो पहिलो अनुभव हो। दसैँ र तिहार लक्षित गरेर १६ कठ्ठामा काँक्रो लगाएको थिएँ’ उनले भने ‘पहिलो लटमा नै लगानी उठेको छ।’ उनले तिहार लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएका छन्। यस खेतीका लागि एक लाख रुपैयाँ लगानी लागेको थियो।

पश्चिम चितवन तरकारी खेतीका लागि प्रख्यात छ। तरकारी जोन समेत स्थापना भएको यस क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन्। यसपटक बजार भाउ नपाउँदा आफूहरूलाई राहत मिलेको शोभाकान्त भुसाल बताउँछन्।

‘नवदुर्गासम्म काँक्रो मूल्य ८देखि १० रुपैयाँ थियो। असोज १६ गतेसम्म आउँदा ३० रुपैयाँ सम्ममा बिक्री भयो’, पश्चिम चितवनका पुराना किसान समेत रहेका भूषालले भने ‘आजभोलि ५० रुपैयाँमा पनि ठेकेदारले बारीबाट उठाएका छन्।’ दसैँको समयमा चितवनको काँक्रोको मुल्यमा सधैँ उतारचढाब आउने गर्दछ । यो समयमा गत वर्ष पनि ५० रुपैयाँको हाराहारीमा बिक्री भइराखेको थियो।

तर, त्यसभन्दा अघिल्लो वर्ष पाँच रुपैयाँमा पनि बिक्री गर्न कठिन भएको उनले बताए। उनका अनुसार, १० रुपैयाँमा बेच्न पाए किसानले आफ्नो लगानी उठाउन सक्छन्।

कांक्रोमात्र होइन यतिखेर अन्य तरकारीको समेत मूल्य पाएका छन्। यु आधुनिक सामूहिक खेतीका अध्यक्ष लेखनाथ भुसालका अनुसार पछिल्लो एक सातामा करेला, टमाटर, लौका चिचिण्डा लगायतको मूल्य ३५ प्रतिशतभन्दा बढीले बढेको छ। अहिले किसानले बारीबाट करेला ७०, लौका ६०, चिचिण्डा ३५ रुपैयाँमा बारीबाट बिक्री गरिरहेका छन्। उपभोक्तालाई मार परे पनि यसपटक किसानलाई राहत भएको उनले बताए।

यो सिजन तराईमा तरकारी उत्पादन कम हुन्छ। यतिखेर मकवानपुर, काभ्रे, धादिङ, काठमाण्डौँ लगायतका जिल्लामा तरकारी बढी उत्पादन हुँदै आएको थियो। तर, त्यस क्षेत्रमा बाढीले नोक्सान गर्दा तरकारीको मूल्य एक्कासि बढेको तरकारी व्यवसायी जयराम पाण्डेले जानकारी दिए। उनका अनुसार अहिले बजारमा टमाटरको मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ पुगेको छ। त्यसै काँक्रोको मूल्य ६०, करेला १२०, लौका ८० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको उनले बताए।

केही समयपछि चितवन तरकारीको मूल्य भने घट्ने उनको दाबी छ। ‘चितवन लगायत तराईका जिल्लामा तरकारी निस्कने अवस्थामा छन्’, उनले भने ‘यी जिल्लामा तरकारी उत्पादन हुने बित्तिकै मूल्य एक्कासि घट्छ।’ चितवनमा किसानहरूले धान काटेर पनि तरकारी लगाउने गर्दछ। अहिले भारतबाट समेत तरकारी आउने गरेको उनले बताए। बन्दा, काउली, सल्यान, रोप्ला धनकुटामाबाट समेत आउने गरेको उनले बताए। 

 

प्रकाशित: २३ आश्विन २०८१ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App