समाज

टीकाको दिन पोखरामा निःशुल्क बस सञ्चालन गरिने, यी रुटमा चल्नेछन् बस

नेपालीको महान चाड बडादशैंको टीकाको दिन पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ । पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा यही असोज २६ गते दशैंको टीकाको दिन पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा ४ वटा कम्पनीका १८ वटा बसहरूले निःशुल्क सेवा दिनेछन् । बस विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क सञ्चालन हुने प्रजिअ पाण्डेले जानकारी दिए । यात्रुलाई सहज होस् भनेर त्यसरी सञ्चालन हुने बसमा ‘निशुल्क बस’ लेखिएको ब्यानर राखिने उनले बताए ।  

सो दिन कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म, लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म र काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो कि.मी. हुँदै लेकसाईडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । त्यसरी सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने उनले बताए ।

यात्रुको चाप हेरेर आवश्यक्ता अनुसार रुट, समय र गाडी थपिने कास्कीका सहायक प्रमुख जल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । उनले भने, ‘जनताको सेवा र राज्यलाई निस्वार्थ सहयोग गर्न हामी तयार छौं । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गर्ने निर्णय भएको हो ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले नागरिकलाई सेवा दिनु आफूहरुको कर्तव्य सम्झेर निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए । तर राज्यपनि आफूहरुको व्यवसायीक सुरक्षाका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित: २३ आश्विन २०८१ १५:५१ बुधबार

#पोखरामा निःशुल्क बस