समाज

व्यापारीको गुनासोः बाँधेका खसी महानगरका कर्मचारीले छोड्दिएपछि हरायो

दसैँको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन्।

बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरुले महानगरका कर्मचारीहरु आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे।

काभ्रेबाट खसी बिक्री गर्न आएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरु फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरु हराएको गुनासो गरे। उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरु हराउँदा दशैँ नै खल्लो भएको बताए।

उनले भने, ‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भन्यो। हामीले लगेनौँ। उहाँहरुले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो। नगरपालिकाको कर्मचारीहरुले त्यसो गर्नुभयो। ३ वटा खसी हराए। त्यस्तो भयो, अब के गर्न सकिन्छ र रु हामी बिहान ४ बजे आइपुगेका हौँ। खसि निकालेर बाँधेका थियौँ। त्यस्तो गरिदिए।’

अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए। उनले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताए। सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको उनले बताए। उनले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे।

उनले भने, ‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ। पोहोर ६५०/६६० मा बेचेका थियौँ। अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन्। सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो। भाडा पनि डबल प¥यो। यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ। बिक्री त जसरी भए नि सिध्याएर जानुपर्छ। तर घाटा खाएर बेच्नुपर्ने भयो।’

अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताए। उनले उपभोक्ताहरु किन्न नआएको गुनासो गरे। उनले ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको बताए।

उनले भने, ‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन। बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन। ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट। लगभग १५ हजार भाडा लाग्यो। बजारको रेटमै बेचेका छौँ।’

यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्छन्। उनले भने, ‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैप¥यो।’

दसैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैँ उल्लासमय बन्न सकिरहेको छैन। विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौं भित्रिने खसी,बोका, च्याङ्ग्राहरु कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि विक्री नभएको व्यपारीहरुको गुनासो छ। 

प्रकाशित: २३ आश्विन २०८१ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App