समाज

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

यस वर्षको मनसुन काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौँ उपत्यकाबाट मङ्गलवारदेखि बाहिरिएको हो।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।

हाल कोशी प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो। यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ।

प्रकाशित: २३ आश्विन २०८१ ०७:२५ बुधबार

#mansoon