समाज

दसैँको मुखमा खसी-बोकाको मूल्य घट्दा किसान समस्यामा

खसीको मासु प्रतिकिलो सय रुपैयाँले घट्यो

भरतपुर महानगरपालिका–२९ की विमला तामाङको मुख्य पेसा बाख्रा पालन हो। खसीबोका बिक्रीबाट नै तामाङको दसैँ खर्च चल्छ।  दसैँलाई मध्यनजर गर्दै तामाङले १९ वटा खसी तयारी अवस्थामा राखेकी छिन्। अहिले यिनै खसी बिक्री गर्न उनलाई समस्या परिरहेको छ।

‘दसैँमा राम्रो मूल्य पार्ने लक्ष्यका साथ व्यापारी आउँदा समेत नदिएर राखेँ,’ उनले भनिन् ‘अहिले व्यापारीहरू निकै कम आएका छन्। पहिलेजस्तो खसी बोकाको व्यापार छैन।’ विगतका वर्षहरूमा भन्दा खसीको मूल्य निकै घटेको उनले बताइन्। ‘अघिल्लो वर्ष प्रतिकिलो ६ सय रुपैयाँमा ज्यूँदो खसी बिक्री भएको थियो’, उनले भनिन् ‘अहिले प्रतिकिलो ४ सय ८० मा पनि बिक्री गर्न कठिन छ।’  दसैँको मुखमा एक्कासि खसी बोकाको मूल्य घट्दा आफूहरूलाई समस्या भएको उनले बताइन्। अहिले उनको खोरमा ७० वटा बाख्रा रहेका छन्।

दसैँ सुरु भए पनि बजारमा खसी बोकाको माग भने बढ्न सकेको छैन। विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसी बोकाको माग कम रहेको रत्ननगर बाख्रा पालन समूहका अध्यक्ष रोहीणी बजगाइँले बताए। ‘अहिले व्यापारीहरू त्यति गाउँ छिरेको अवस्था छैन,’ अध्यक्ष बजगाईँले भने ‘अहिले मूल्य घट्दा किसानहरू समस्यामा छन्।’ यस समूहले पाँच वर्षदेखि किसानबाट बाख्रा संकलन गरेर बिक्री गर्दै आएको छ। गत वर्ष दसैँको समयमा १ सय ४० वटा खसी विक्री गरेको थियो। अहिले २ सय वटा खसी तयारी अवस्थामा रहेको उनले बताए। समूहले मासु काटेर समेत बिक्री गर्दै आएको छ।

दसैँको पाँच दिन खसीको बिक्री बढी हुने गर्दछ। तर, किनबेचको हिसाबले विगतको जस्तो नभएको मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेश प्रसाद पौडेलले बताए। उनका अनुसार विगतका वर्षमा चितवन जिल्लामा दसैँको समयमा १५ हजारको हाराहारीमा खसीबोका खपत हुन्थ्यो। अहिले १२ हजार खसी बोका पनि बिक्री नहुने उनको दाबी छ। मानिसको क्रय शक्ति कम भएर हो कि जिल्लामा जनशक्ति नै कम भएर हो थाहा हुन सकेन, उनले भने मासुको खपत चाहिँ विगतको वर्षहरूमा भन्दा कम हुँदै आएका छ।

जिल्लामा मासुको उत्पादनमा २५ प्रतिशतले वृद्धि भएको छ। खसी बोकाको माग घट्दा व्यवसायीले मूल्य समेत घटाएका छन्। मासु व्यवसायी संघ चितवनले खसीको मासुमा प्रतिकिलो सय रुपैयाँ घटाएका छन्। उनका अनुसार बोसो सहितको खसीको मासुलाई प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै बोसो रहित खसीको मासुलाई १ हजार १ सय रुपैयाँ तोकिएको उनले बताए।

यसअघि जिल्लामा बोसो सहितको मासु १ हजार १ सय र बोसो रहितको मासु १ हजार २ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो। खसीको मासुको मूल्य घट्दा बङ्गुरको मासुको मूल्य भने वृद्धि भएको छ। अध्यक्ष पौडेलका अनुसार बङ्गुरको मासु प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष ४ सय ५० मा बिक्री भइरहेको थियो।

चितवन जिल्ला मासुमा आत्मनिर्भर छ। यहाँ खपत हुने मासु चितवनकै उत्पादन रहेको पशु सेवा कार्यालय चितवनका प्रमुख सुदिप केसीले जानकारी दिए। उनका अनुसार उत्पादनको ४० प्रतिशत मासु बाहिरी जिल्ला जाने गरेको छ। जिल्लामा वार्षिक १६ हजार ८४६ मेक्ट्रिक टन मासुको उत्पादन हुने गर्दछ। त्यसमध्ये कुखुराको सबैभन्दा बढी १३ हजार २१९ मेक्टिक टन रहेको उनले बताए। राँगा २ हजार ८८०, खसी १ हजार ४२३, बङ्गुर ३ सय ४ र हाँस ९को मासु ९ मेक्टिक टन उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। मासुको खपत सबैभन्दा धेरै दसैँमा नै हुने गर्दछ। 

प्रकाशित: २२ आश्विन २०८१ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App