समाज

जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन

जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ।

घटस्थापनाका दिनदेखि दसैंको सस्तो बजार सुरु गरिएको थियो। सुपथ मूल्यमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरूको चहलपहल बढेको छ।

दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ता चप्पल, शृङ्गारका सामान, घरेलु सामान, सजावटका सामग्रीका साथै खाद्यवस्तुहरू व्यापारीहरूले विक्री गर्दै आइरहेका छन्। जनकपुरधाममा दसैंको मेला वरपरका गाउँबाट आएकाहरू दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि पुग्ने गरेका छन्।

जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपडाको स्टल लगाएका व्यापारी श्याम साहले बताए। उनले प्रत्येक वर्ष दसैं सस्तो बजारमा स्टल लगाउँदै आएका छन्।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको बजार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रत्येक वर्ष सस्तो बजार लगाउने गरिएको बताए।

उनले आउने वर्षहरूमा दसैंमा मात्रै लाग्ने यो सस्तो बजार छठसम्म लगाउने गरी योजना बनाई रहेको जानकारी दिए। सस्ता बजारमा स्टल लगाएका पङ्कज केजरीवालले सस्तो बजारले आर्थिक रुपमा व्यापारीलाई केही हदसम्म सबल बनाउने बताए। 

सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफूहरू सस्तो बजारमा आएको उपभोक्ताहरूले बताए। यद्यपि खुद्रा सामान किन्न कठिनाइ भइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ। दसैंको अवसरमा हरेक वर्ष जनकपुर धाममा सस्तो मेला लाग्ने गर्दछ।

प्रकाशित: २२ आश्विन २०८१ १४:५५ मंगलबार

#janakpurdham