काठमाडौंको सीतापाइलामा चार वटा गाडी एक-आपसमा ठोक्किएका छन्।
मंगलबार बिहान साढे ११ बजेतिर चार वटा गाडी एक आपसमा ठोक्किएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए।
उनका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डिआइ गाडी एक-आपसमा ठोक्किएका हुन्।
बा १६ च ६३३७ नम्बरको गुडिरहेको कारलाई बागमती प्रदेश ०२०३४ प नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो।
एक्कासि कारले ब्रेक लगाएर रोकेपछि पछाडिबाट आएको बा ४ ख ७९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको थियो। कारमा ठोक्किएर मोटरसाइकल लडेको थियो। ठोक्किएको कार विपरीत दिसातर्फ जाँदा विपरीत दिसाबाट आइरहेको बा १० च ८७७५ नम्बरको डिआइ गाडीमा लागेको थियो।
दुर्घटनामा परेर मोटरसाइकल चालक काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्। उनलाई मनमोहन अस्पतालमा लगिएको छ।
प्रकाशित: २२ आश्विन २०८१ १४:२७ मंगलबार