समाज

बाढी गएको एक सातापछि जब ड्रोन राहत बोकेर पुग्यो...

यही असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी पहिराले काभ्रेपलान्चोक जिल्ला धेरै प्रभावित बन्यो। जिल्लाका विभिन्न पालिकाहरू बाढी पहिरोको चपेटामा परे। अहिले उक्त प्रभावित ठाउँहरूमा राहत वितरणका कामहरू धमाधम भइरहेको छ। राज्य सँगैसँगै विभिन्न संघसंस्थाहरुले राहत वितरण गरिरहँदा पनौती नगरपालिका वडा न.१२ को मगर गाउँमा भने अहिलेसम्म राहत पुग्न सकेन्। 

बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अ‍ैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ । बाढी गएपछि वडा अध्यक्ष गाउँ टेक्न पनि नआएको तमाङको गुनासो छ। बढीले तमाङको घर, गोठ लडायो, भएको पाखो बारी खोलाले बगायो। 

तमाङ भन्छन्, ‘बाढी गएको यति दिन भयो वडा अध्यक्षले एक पटक पनि गाउँ टेक्नु भएका छैन। बाढीले मेरो घर,गोठ लड्यो। भएको पाखो बारी खोलाले बगायो।  केही अन्न उठाउन नि पाइएन्। अब मागेर खाऊ की जोगी बनेर हिड्यौं।’

स्थानीय अष्टमान तमाङ

६१ वर्षीय तमाङको परिवारमा २० जना सदस्य छन्। तमाङको चार भाइ छोरा छन्। बुहारी चार जना, १० जना नातिनातिना र श्रीमती । तर अहिले परिवार कसरी पाल्ने भन्ने चिन्ता उनीलाई छ। 

अहिलेसम्म गाउँमा कुनै पनि स्थानीय तह र सङ्घसंस्था राहत लिएर नआएको बताउँछन् स्थानीय मनोज तमाङ। तमाङको परिवारमा चार जना छन्। उनको पनि घर चर्किएको छ। बारी बाढीले बगायो। गाउँमा बस्नलाई नै डर लाग्दो छ। 

तमाङ भन्छन्, ‘बाढीले खेतबारी बगायो। गाउँ आउने बाटो बगायो। खानेकुरा लिन जानलाई पनि बाटो छैन। यहाँसम्म कोही आउनु भएन। वडाले फर्केर हेरेन। अहिलेसम्म घरमा जे–जे बाँकी थियो। त्यही खाएर बस्यौँ।’ अहिले राहत लिएर गएको हामी नेपालको टिम भगवान जसरी पुगेको उनी बताउँछन्।

पनौती नगरपालिका र रोशी गाउँपालिकाको बिचमा छ मगर गाउँ। मगर गाउँ पुग्न गोरेटो बाटो भने बनेको छ तर सवारी जाने बाटो छैन। वडा कार्यालयबाट करिब एक घण्टा हिँडेपछि पुगिन्छ मगर गाउँ। तामाङ बस्ती रहेको गाउँमा करिब ८५ घरधुरी रहेका छन्। अहिले पुरै बस्ती जोखिममा परेको छ। 

स्थानीय मनोज तमाङ

राज्य पनि नपुगेको मगर गाउँमा अहिले हामी नेपाल संस्थाले राहत वितरण गरिरहेको छ। सोमबार ड्रोनको सहयोगमा संस्थाले राहत वितरण गरेको हो। हामी नेपाल संस्थाका कार्यक्रम निर्देशक अनिल बानिया मगर गाउँमा नै बसेर राहत वितरण गरिरहेका छन्। मुगु घर भएका अनिल अहिले मगर गाउँका बासिन्दाहरूको घाउमा मलम लगाउन व्यस्त छन्। 

हामी नेपालको अहिले दुई वटा टोली फिल्ड बेसमा बसेर काम गरिरहेको छ। एउटा टोलीले पनौती बजारभन्दा अलि तल रहेको क्रसर उद्योग छेउमा बसेर सामग्रीहरू ड्रोनमा लोड गर्छ, त्यसपछि ड्रोन उडाएर मगर गाउँ तर्फ पठाउँछ। मगर गाउँमा रहेका अनिल बानियाले स्थानीय केही युवाहरूलाई आफ्नो साथमा लिएर सामान अपलोड गर्छन्। 

क्रसर उद्योगबाट करिब २ किलोमिटर टाढा छ मगर गाउँ। त्यहाँबाट २४ सय मिटर उचाइमा उडेको ड्रोनले करिब एक मिनेटमा मगर गाउँमा सामान झार्छ। 

बनिया भन्छन्, पनौती बजारभन्दा अलि तल क्रसर उद्योग छ। त्यहाँबाट साथीहरूले सामान पठाइरहनु भएको छ। एक चोटिमा दुई बोरा सामान ड्रोनले ल्याउन सक्दछ। करिब दुई किलोमिटर टाढा रहेको मगर गाउँमा एक मिनेटमा ड्रोनले सामग्री ल्याउँछ। यहाँ अपलोड गर्न त्यही ३० सेकेण्ड जति लाग्छ। मगर गाउँमा म एक्लै छु। यहाँका केही युवा साथीहरू लिएर काम गरिरहेको छु। 

हामी नेपालले एयर लिस्ट टेक्नोलोजी कम्पनीको सहयोगमा श्रेणी डी को ड्रोन उडाइरहेको छ। गृह मन्त्रालयको स्वकृत लिएर अहिले हामी नेपालले ड्रोन उडाइरहेको हो। 

मगर गाउँमा गएको पहिरोले खेतबारी सबै लगेको छ। केही घरहरू बाढीले बगाएको छ। आठदेखि दश वटा घरहरू पहिरोमा झुण्डिरहेको र अन्य करिब दश ओटा घरहरू पहिरोको जोखिममा रहेको बानिया बताउँछन्। 

छरिएर रहेको गाउँ डुलेर यकिन तथ्याङ्क निकाल्न बानियालाई आठ घण्टा लागेको थियो। गाउँमा पहिरोबाट घाइते भएका तीन, चार जनालाई आफ्नै नेतृत्वमा अस्पताल पठाएको उनी बताउँछन्। 

बनिया भन्छन्, ‘हामी यहाँ आउँदा अरु कोही पनि राहत लिएर नआएको स्थानीयले बताएका थिए। यहाँ घाइते भएर बसेका तीन चार जनालाई हामीले नै बोकेर तलसम्म लगेर अस्पताल पठाएका थियौँ। गाउँको अवस्था बुझन र को को पीडित छन् भनेर तथ्याङ्क निकाल्न म आठ घण्टा गाउँ डुलेको थिए। यहाँ टेलिफोन पनि राम्रोसँग लाग्दैन। विद्युत् पनि छैन।’

हामी नेपाल मगर गाउँमा ८५ थान सोलार प्रदान गरेको छ। जसले गर्दा अहिले मगर गाउँ अहिले उज्यालोले भरिएको छ। 

हामी नेपाल संस्थाका कार्यक्रम निर्देशक अनिल बानिया

बाढी पहिरो गए लगतै काभ्रे पुगेको थियो हामी नेपालको टिम। टिमको एक टोलीले जिल्ला प्रशासन, जिल्ला प्रहरी, लगायत अन्य निकायहरूसँग समन्वय गरिरहेको थियो भने अर्को टोली कहाँ कति क्षति भएको छ र राहत वितरणमा के भएको छ भन्ने अनुसन्धानमा निस्केको थियो। सोही अनुसन्धानमा हामी नेपालको टिमले भेटेको थियो मगर गाउँमा राहत नपुगेको कुरा।

हामी नेपालले मगर गाउँमा मेडिकलका सामग्री, सेनेटरी प्याड, खाद्यान्नको सामग्रीहरू लगेर वितरण गरिरहेको छ। परिवारको संख्या हेरेर अहिलेलाई राहत वितरण गरेको बानियाले बताए।  

मगर गाउँमा खानेपानीको समस्या छ। खानेपानीको पाइप पहिरोले बगाएको हुँदा पानी खान समस्या रहेको बानियाँ बताउँछन्। जसले गर्दा आगामी दिनमा दूषित पानीले विभिन्न खालका रोगहरू फैलाउन सक्ने डर रहेको बानिया बताउँछन्।

प्रकाशित: २१ आश्विन २०८१ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App