समाज

उदयपुरमा डेढ दर्जन प्रजातिका स्तनधारी वन्यजन्तु भेटिए

सिसीआईकी कार्यकारी निर्देशक टेर्री एलेन्डरलाई स्वागत गर्दै वन अधिकृत साह र अध्यक्ष राई। तस्बिरः महेश्वर

उदयपुरमा डेढ दर्जन प्रजातिका वन्यजन्तु फेला परेका छन्। झण्डै एक वर्षअघि सदरमुकाम गाईघाटस्थित विभिन्न सामुदायिक वन उपभोक्ता समूहका जङ्गलमा राखिएको क्यामेरा –क्यामेरा ट्र्यापिङ)बाट १८ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको प्रमाणित भएको हो।

डिभिजन वन कार्यालय उदयपुरअन्तर्गत देउरी सब डिभिजन वन कार्यालयभित्र पर्ने विभिन्न १३ सामुदायिक वन समूहको जङ्गलमा ‘क्यामेरा ट्र्यापिङ’ गर्दा ती वन्यजन्तु रहेको पाइएको हो। ०८० पुसमा राखिएको क्यामेराले १० महिनाको अवधिमा कैद गरेको वन्यजन्तुको गतिविधिको भिडियो रेकर्डले १८ प्रजातिका रहेको पाइएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा नगरपालिका ५ स्थित सब डिभिजन मातहतका वन समूहमा के कति किसिमका वन्यजन्तु छन् भन्ने यकिन गर्न ‘क्यामेरा ट्र्यापिङ’ गरिएको थियो। त्रियुगा नगरपालिका ४, ५ र ६ नं. वडाभित्रका वन समूहभित्रका स्तनधारी जनावर पत्ता लगाउन राखिएका क्यामेरा भर्खर निकालेर कैद भएका भिडियो रेकर्ड प्रदर्शन गरिएको छ।

त्रियुगा ५ स्थित सरस्वती वन समूहले आयोजना गरेको ‘रेकर्ड सार्वजनिक कार्यक्रम’मा चितुवा, नील गाई, वन बिरालो, सानो नीर बिरालो, ठूलो नीर बिरालो, गाजले नीर बिरालो, चरी बाघ, बँदेल, पाटे भालु र रतुवा मृग देखिएको छ। सरस्वती वन समूहका अध्यक्ष दिपक बान्तवाका अनुसार प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी) नेपालले उदयपुरमा पाइने स्तनधारी वन्यजन्तुको अध्ययन गर्न क्यामेरा ट्र्यापिङ गरेको थियो।

सामुदायिक वन महासङ्घ नेपालको समन्वयमा अमेरिकास्थित सामुदायिक संरक्षण इन्टरनेशनल (सिसीआई)को प्राविधिक टोलीले क्यामेरा राखेको अध्यक्ष बान्तवाले बताए। उनका अनुसार एउटा समूहमा आवश्यकता अनुसार १ देखि ३ वटासम्म राखिएका क्यामेरा झिकेर रेकर्ड सार्वजनिक गरिएको हो।

सार्वजनिक वन्यजन्तुको रेकर्ड हेर्न सिसीआईकी कार्यकारी निर्देशक टेर्री एल्लेन्डर स्वयं उपस्थित थिइन् । उनले विश्वको वन सम्पदा र वन्यजन्तुको मानवसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुनाले तिनीहरूको संरक्षण गर्नु मानव जगतकै प्रमुख दायित्व रहेको बताइन्। एल्लेन्डरले ‘मानव, वन्यजन्तु र प्राकृतिक वनस्पतिबिचको सहअस्तित्व कायम गरी बाँचौँ र बचाऔँ’ भन्ने मूल नारा लिएर सिसीआई विश्वभरको वन्यजन्तु संरक्षणमा अभियानको क्रममा आफू नेपालको उदयपुर आइपुगेको बताइन्।

उदयपुरका अन्य सामुदायिक वन समूहको जङ्गलहरूमा पाइने वन्यजन्तुको अध्ययन गर्न क्यामेरा राख्ने जानकारी पनि उनले दिएकी छिन्। दसैँ तिहार लगत्तै त्रियुगाकै केही वन र छिमेकी चौदण्डीगढी नगरपालिकाका वन समूहमा क्यामेरा राखिने योजना टेर्रीले सुनाइन्।

सहायक डिभिजन वन अधिकृत जागेश्वर साहले वन्यजन्तुको संरक्षण गर्न र मानवसँगको उनीहरूको सम्बन्धबारेको यो अध्ययन नेपालमा नौलो भएको बताए। यो धेरै राम्रो काम भएको भन्दै साहले अहिले सबै जसो वन जङ्गलको रेखदेख र हेरचाहको जिम्मा समुदायलाई दिइएकाले समुदायलाई नै वन र वन्यजन्तुको संरक्षण, प्रयोग र उपयोग गर्ने अधिकार दिइएको बताए।    

प्रकाशित: २० आश्विन २०८१ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App