समाज

दोब्बर भाडा असुल्दै सुमो चालक

दसैं मनाउन काठमाडौंबाट रौतहट र सर्लाही आउने यात्रुसँग सुमो, हायस र इभीले दोब्बर भाडा असुलेको पाइएको छ। प्रतिव्यक्ति दुई हजार रूपैयाँ भाडा असुल गरिए पनि सम्बन्धित निकाय मौन छ। सामान्य अवस्थामा काठमाडौंबाट रौतहट र सर्लाहीका लागि एक हजारदेखि एक हजार एक सय रूपैयाँसम्म लिने गरिएको थियो।

अहिले चाडबाडको मौका पारेर यातायात व्यवसायीले दोब्बरभन्दा बढी भाडा लिएको यात्रुले बताएका छन्। काठमाडौंबाट रौतहटको गरुडासम्म शनिबार दिउँसो  पौने ३ बजे यात्रु लिएर आएको एक सुमोका चालक मिलनले एक यात्रुबाट दुई हजार रूपैयाँ भाडा असुलेका छन्।

ती यात्रुले गाडी चढ्ने बेलामा एक हजार पाँच रूपैयाँ तय भएको बताउँदा चालक मिलनले हप्काउँदै भने, ‘काउन्टरमै दुई हजार रूपैयाँ नलिईकन चढ्न दिँदैनौँ, यहाँसम्म ल्याएपछि किचकिच किन?’

मिलन त उदाहरण मात्र हुन्। काठमाडौंबाट शुक्रबार चन्द्रपुर आएका श्यामबाबु चौधरीले आफूसँग पनि सुमोले दुई हजार रूपैयाँ भाडा लिएको बताए।

काठमाडौंबाट सर्लाहीसम्म चल्ने सुमोले पनि मनपरी भाडा उठाइरहेका छन्। गत बिहीबारसम्म प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँ उठाइरहेका सुमोले अहिले दुई हजार रूपैयाँ उठाउन थालेको यात्रुको गुनासो छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ।

पेट्रोल र डिजेलको भाउ घटाएको भए पनि चाडपर्वको मौका छोपी साना सार्वजनिक सवारीसाधनले यात्रुसँग मनपरी भाडा असुलिरहेका छन्। तर यस विषयमा कतैबाट अनुगमन भएको छैन। काठमाडौँदेखि रौतहट र सर्लाहीसम्म आउँदा दर्जनौं ठाउँमा ट्राफिक प्रहरी रहे पनि यात्रुको गुनासोप्रति उनीहरूले ध्यान दिएको पाइँदैन।

प्रकाशित: २० आश्विन २०८१ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App