समाज

चाड आयो, तलब आएन, शिक्षकको घरमा खुसी छाएन

दक्षिणी रौतहट र सर्लाही गाउँहरूमा दसैंको कुनै रौनक छैन। बाढीले गर्दा जनजीवन प्रभावित बनेको त छँदै छ, त्यहीँमाथि स्थानीय शिक्षक तथा कर्मचारीले तलब सुविधा नपाउँदा उनीहरूको मुहारमा थप निराशा थपिएको छ।

रौतहटका गढीमाई, गरुडा, कटहरिया, फतुवा विजयपुर, बौधिमाईलगायतका नगरपालिकाले शिक्षक कर्मचारीको तलब दसैं अघि पठाउन नसक्दा उनीहरू आर्थिक कठिनाइमा परेका छन्।

केही पालिकाहरूले आइतबार वा सोमबारसम्म तलब पठाउने तयारी गरिरहेका छन्, तर दसैं अघि तलब पाउने सम्भावना कम रहेको शिक्षकहरूको गुनासो छ।  

सरकारले मासिक तलब खुवाउन पालिकाहरूलाई निर्देशन दिए पनि तीन महिना बितिसक्दा पनि शिक्षकहरूले आफ्नो तलब पाएका छैनन्। चाडपर्वको भत्ता पनि दसैंअघि नै उपलब्ध गराउनु पर्नेमा दसैंको तीन दिन बितिसक्दा समेत साउनदेखि बाँकी रहेको तलब नपाउँदा उनीहरूको दसैं खल्लो भएको हो।

सरकारको ताकेतालाई अटेरी गर्दै पालिकाहरूले तलब भत्ता पठाउन आनाकानी गरिरहेका छन्।

रौतहटको गढीमाई नगर प्रमुख श्यामप्रसाद यादवले आइतबार विद्यालयको खातामा तलब पठाउने तयारी भइरहेको जनाएका छन्। अन्य पालिकाहरूले सोमबारसम्म तलब भत्ता पठाउने तयारी गरिरहेको जानकारी दिएका छन्।

सर्लाहीको बरहथवा नगरपालिकाले भने नगरपालिकाको खाता शुक्रबार मात्रै खुलेको कारण दसैंको बीचमा शिक्षक कर्मचारीको तलब पठाउने बताएको छ। बसबरिया गाउँपालिकामा भने गाउँ सभा नै हुन नसक्दा शिक्षकहरूको तलब अनिश्चित भएको छ।

रौतहट र सर्लाहीका करिब दर्जन पालिकाहरूले साउनदेखि नै शिक्षक, कर्मचारीको तलब, भत्ता तथा चाडपर्व खर्च उपलब्ध गराउन नसक्दा दसैं खल्लो भएको र घरपरिवार चलाउन कठिन भइरहेको गुनासो शिक्षक कर्मचारीहरूले गरेका छन्।

प्रकाशित: १९ आश्विन २०८१ २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App