समाज

आरोही निम्सले अतिरिक्त अक्सिजन विनै चढे १४ हिमाल

पर्वतारोहणको क्षेत्रमा निम्सको नाममा दुर्लभ किर्तिमानी

तिब्बतमा रहेको शिशापाङ्माको आरोहण गरेपछि निम्स र उनका साथी मिङ्मा शेर्पा। तस्बिर: निम्स

चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गरेका छन्।

शुक्रबार नेपाली समय दिउँसो १ः५५ बजे तिब्बतमा रहेको शिशापाङ्माको आरोहण गरी साढे दुई वर्षमा अक्सिजनविनै सबैभन्दा छिटो १४ वटा चुचुरो पार गर्ने विश्वकै पहिलो आरोही बनेका हुन्।

पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै आएका पुर्जाले सहकर्मी मिङ्मा शेर्पासँगै प्रतिकुल मौसमका बाबजुद सफलतापूर्वक आरोहण सम्पन्न गरेको पुर्जाले व्हाट्सएपमार्फत जानकारी दिएका छन्।

‘यो पर्वतारोहणको क्षेत्रमा अर्को नयाँ सन्देश दिन सफल भएका छौं, नेपालीले चाहेमा गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’ पुर्जाले भने।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत हरेक परिस्थितिमा साथ दिएकोमा साथी मिङ्मालाई समेत बधाई दिएका छन्। पूर्जा र मिङ्मा प्रख्यात कम्पनी दि इलाइट एक्सपीडका लगानीकर्ता समेत हुन्।

सन् २०२२ मे महिनाको ७ तारिकमा अक्सिजनको प्रयोग नगरी आरोही निम्सले कञ्चनजंगाबाट यो अभियानको सुरुवात गरेका थिए। उनले सोही वर्षको मे महिना २७ मा सगरमाथा, मे २८ ल्होत्से हुँदै मकालु,च्होयो, धौलागिरि, अन्नपूर्ण मनासलु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो हुँदै अन्तिममा शिशापङ् पुगेका थिए। १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा छन्।

प्रतिकुल मौसम र यौनहिंसा, पर्वतारोहणका क्षेत्रमा भइरहेका रेकर्डलाई बदनाम बनाउन विभिन्न मिडिया ट्रायलको सामना गर्नुपरेपछि केही समय यो अभियान प्रभावित भएको थियो।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरि हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको आरोहरणमार्फत यो अभियानका बारेमा जानकारी गराएका थिए।

आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुमा समेत उनको दुर्लभ कीर्तिमानी छ। उनले यो आरोहणका क्रममा नयाँ–नयाँ कीर्तिमान समेत कायम गरेकाले यसका बारेमा थप जानकारी गराइने उनको कम्पनी दि इलाइट एक्सपीडले जनाएको छ।

जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन्। हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४८ पटक भन्दा बढी आरोहण गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए।

कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन ट्रेडमा कार्यरत थिए।

क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पुर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पूर्जा सक्रिय छन्।

उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन्। उनले आरोहणसँगै भरियालाई घर, विभिन्न शैक्षिक क्षेत्रमा समेत सहयोग गरेका छन्।

प्रकाशित: १९ आश्विन २०८१ १८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App