समाज

‘आँटेको पुरयाइदेऊ रेशम बागलुङ कालिका’

नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो। कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए।

कोही भाकलको बोका डोर्‍याइरहेका त कोही भाले कोखिलामा च्यापिरहेका देखिन्थे। शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए। मन्दिरको माहोलले दसैं आएको आभास दिलाएको थियो।

भक्तजनहरु एकापसमा शुभकामना साटिरहेका थिए। मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो। पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए।

घण्टौंसम्म लाममा उभिँदा पनि उनीहरु शान्त र धैर्य देखिन्थे। पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरुको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाइन्। धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उनको भनाइ थियो।

भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताए। देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए।

मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए। कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए। बडादसैंको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। दसैंको फूलपाती र अष्टमीका दिनमा ठूलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ थियो।

“बडादसैंभर बिहान तीन बजेदेखि नै मन्दिर खुला हुन्छ, यस अवधिमा दैनिक हजारौं भक्तजन मन्दिर दर्शनका लागि आउनुहुन्छ”, उनले भने, “भक्तजनको सेवा सुविधा र सहजताका लागि पूजाको सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको छ।” मन्दिरको सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रशासन र स्वयंसेवक खटाइएको उनले जानकारी दिए।

मन्दिर परिसरमा आकस्मिक स्वास्थ्य सेवाकक्ष सञ्चालन गरिएको छ। भक्तजनको मनोरञ्जनका लागि नियमित भजन र साँझमा आरतीको प्रबन्ध मिलाइएको छ। नवरात्रभर पाँच लाख भक्तजनले मन्दिरको दर्शन गर्ने आङ्कलन गरिएको अध्यक्ष खड्काले सुनाए।

यसपटकबाट भक्तजनलाई प्रसादी पनि वितरण गर्न सुरु गरिएको छ। विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा स्थापित कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैं र चैतेदसैंमा विशेष मेला लाग्ने गर्छ।

बडादसैंको पूजासँग कालिका भगवती मन्दिरको लामो इतिहास र परम्परा जोडिएको अध्यक्ष खड्काले बताए। मध्यकालमा पर्वत राज्य हुँदादेखि नै यस मन्दिरमा पूजाआजाको थिति बसेको इतिहासमा उल्लेख छ।

तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ।

पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ। पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको हो। तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप लिएको हो। उक्त मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ।

“देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन्”, अध्यक्ष खड्काले भने, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ।” नवरात्रको अष्टमी र नवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने गरिएको छ। मन्दिरमा परेवा, कुखुरा, हाँस, बोका, सु्ङ्गुर र राँगोकोसमेत बलि दिइन्छ।

नवदुर्गाका बेला विवाहको समेत शुभमूर्हत पर्ने भएकाले मन्दिरमा विवाह गर्न  पनि उत्तिकै आउने गरेका छन्। विवाह, पूजाआजा, यज्ञ, भेटी, दान लगायतबाट मन्दिरको आम्दानी यस अवधिमा बढ्ने गरेको छ।

विशिष्ट पहिचान बोकेको कालिका मन्दिरको महिमागान अनेक तबरबाट भइरहेको छ। गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले २३ वर्षअघिको गीतमा देवी कालिकालाई समेटेका थिए।

‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका....’

प्रकाशित: १९ आश्विन २०८१ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App