समाज

चाडपर्व सुरक्षित बनाउन जुम्लामा ‘नागरिक सहायता कक्ष’

तस्बिर: गोल्डेन/नागरिक

चाडपर्वलाई सुरक्षित बनाउनुका साथै दुर्घटना न्युनिकरण गर्न जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले शुक्रबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याएको हो। यात्रुहरूलाई सास्ती नपरोस् र दुर्घटनाको जोखिम कम होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरी कार्यालयले जनाएको छ।

सहायता कक्षको उद्घाटन जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले गरेका थिए। उनले सडक दुर्घटना न्यूनीकरण, चोरी–डकैती रोकथाम तथा यात्रुहरूको सुरक्षाको लागि सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिए। यस कक्षमार्फत नागरिकहरूलाई विभिन्न प्रकारका सचेतनामूलक जानकारी दिइने र गुनासोहरूको तत्काल सम्बोधन गरिने उनले जनाए।

कार्यालयका डिएसपी छेदीलाल कामतीका अनुसार सचेतनामूलक पर्चा र पम्पलेट वितरण गरिनेछ। चालकहरूलाई अनिवार्य रूपमा सीट बेल्ट लगाउन प्रेरित गर्ने, क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन सुझाव दिने लगायतका कार्यहरू कक्षबाट गरिनेछ।

डिएसपी कामतीले भने, "तीव्र गति भनेको जीवनको क्षति हो।" उनले सडक लेन अनुशासन पालना गर्न, मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य प्रयोग गर्न, र तोकिएको गतिमा मात्र सवारी चलाउन आग्रह गरे।

सहायता कक्षले नागरिकहरूलाई घर, पसल, धनमालको चोरीबाट जोगिन उच्च सावधानी अपनाउन पनि सचेत गराएको छ। प्रहरीले घरमा सीसी क्यामेरा जडान गर्ने, आपतकालीन साइरनको व्यवस्था गर्न र राति उज्यालोको प्रवन्ध गर्नुपर्ने सल्लाह दिएको छ।

साथै, घरमा कुकुर पाल्ने, मुख्य प्रवेशद्वार राम्ररी बन्द गर्ने, धेरै नगद वा गरगहना नराख्ने, र अपरिचितलाई घरभित्र प्रवेश नगराउने उपायहरू पनि अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: १८ आश्विन २०८१ २१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App