समाज

मासु नखाएको कारणले जागिर खोसिएको हैनः नेपाली सेना

नेपाली सेनाकाे मुख्यालय भवनको स्केच ।

काठमाडौंः नेपाली सेनाका प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाइ राजीनामा दिएकाले प्रक्रियागत रुपमै उनी सेवाबाट अलग भएको नेपाली सेनाले स्पष्ट पारेको छ।

मासु नखाँदा आफ्नो जागिर खोसिएको र डर धम्की दिइएको भन्दै प्युठ खाँले विभिन्न निकायमा याचना गरेको खवर नागरिकन्यूज डट कम बाट बुधवार सम्प्रेषित भएको थियो।

समाचारप्रति आपत्ति जनाउँदै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बांके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेषित तथ्यहीन छ।’

यसैगरी सेनाको भान्सामा मासु नखाने साकाहारी सबै व्यक्तिलाई फलफुल, दुध÷दही जस्ता खाद्य वस्तुको व्यवस्था भएकोले कसैलाई पनि जवरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको सेनाले स्पष्ट पारेको छ ।

नेपाली सेना एक समावेशी संगठन भएको जनाउँदै नेपाली सेनाको विज्ञप्तिमा सबै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो समाजमा सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने खालका गतिविधि सम्प्रेषण गर्दा संवेदनशील हुन पनि आग्रह गरिएको छ ।
पढ्नुहोस् नेपाली सेनाको विज्ञप्ती (पूर्णपाठ)

प्रकाशित: २२ चैत्र २०७४ ११:५० बिहीबार

मासु नखाएको कारणले जागिर खोसिएको हैनः नेपाली सेना